सबै पुस्तालाई जोड्ने राष्ट्रिय शक्ति बन्नुपर्छ कांग्रेस [भिडियो]
नयाँ पुस्ताको सहभागिता औपचारिकता मात्र हुनुहुँदैन: गगन थापा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
305
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन्। ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको स्पष्ट पारे।
पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय रहेको उल्लेख गर्दै थापाले नेपाली कांग्रेसले विगतमा सबै जातजाति र भाषाभाषीलाई जोड्ने शक्तिको रूपमा काम गरेझैँ अब सबै पुस्तालाई जोड्ने सामर्थ्य पनि राख्नुपर्नेमा जोड दिए। यसका लागि नयाँ पुस्तालाई पार्टीमा स्वागत मात्र गरेर नपुग्ने भन्दै उनीहरूको कुरा सुन्ने र दृष्टिकोण बुझ्ने धैर्यता पनि राख्नुपर्ने उनले बताए। नयाँ पुस्ताको सहभागितालाई ‘टोकन’ वा औपचारिकतामा मात्र सीमित राख्न नहुने उनको तर्क छ।
पछिल्लो समय समाजमा बढ्दै गएको पुस्तान्तरणको खाडलप्रति सचेत गराउँदै थापाले ६०–६५ वर्ष नाघेका नागरिकलाई ‘वर्ग शत्रु’ का रूपमा चित्रण गर्ने सोच गलत भएको बताए। यस्ता नकारात्मक चिन्तनबाट समाजलाई मुक्त राख्ने जिम्मेवारी कांग्रेसकै भएको उनको भनाइ छ।
विगतको संविधान सभा कालखण्डमा समाज जातीय आधारमा विभाजित हुन लागेको स्मरण गर्दै सभापति थापाले कांग्रेसले नै सबैको पहिचान र सम्मानलाई स्थापित गर्दै मुलुकलाई जोगाएको दाबी गरे।
उनले बदलिँदो समयसँगै नयाँ पुस्ताको सोच र राजनीतिक अपेक्षा फरक हुने भएकाले उनीहरूको विचारलाई सम्मानपूर्वक सुन्नुपर्ने धारणा राखे। ६०–६५ वर्षभन्दा माथिका मानिसलाई पछाडि पार्नुपर्ने सोच विकसित हुनु स्वस्थ लोकतान्त्रिक संस्कृतिका लागि उचित नभएको भन्दै उनले कांग्रेसले यस्तो विभाजनकारी सोचभन्दा माथि उठेर सबै पुस्ताबीच सहकार्य र विश्वासको वातावरण बनाउनुपर्ने स्पष्ट पारे।
बहुआयामिक पहिचानले बनेको नेपाली समाजमा विभाजन नभई एकता र समावेशितालाई प्राथमिकता दिनु नै कांग्रेसको जिम्मेवारी भएको उल्लेख गर्दै थापाले अब पार्टीभित्र र समाजमा ‘सबै पुस्ता बराबर हुन्’ भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए।