arrow

प्रतिपक्षलाई पेलेर अघि बढे सरकार टिक्दैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
raghubir-mahaseth-03-04.jpg

जनकपुर। नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई बेवास्ता गर्दै वा पेलेर अघि बढ्ने सरकार दीर्घकालीन रूपमा सफल हुन नसक्ने बताएका छन्।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक सरकारको मूल आधार सहकार्य र सहमति भएको उल्लेख गर्दै प्रतिपक्षसँग समन्वय गरेर अघि बढ्न सरकारलाई सुझाव दिए।

वर्तमान सरकार गठन भएको करिब चार महिना पुग्न लाग्दा पनि अपेक्षित प्रभावकारी काम देखिन नसकेको भन्दै उनले सबै राजनीतिक दललाई साथमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

महासेठले मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनमतको सम्मान गर्दै जनताको भावना र अपेक्षाअनुसार काम गर्नुपर्ने बताए। जनताले विश्वासका आधारमा मत दिएको उल्लेख गर्दै उनले काम गर्न नसके त्यो विश्वास गुम्न सक्ने चेतावनी दिए।

सरकारले शिक्षा, स्वास्थ्य तथा घरजग्गा कारोबारमा थप गरेको करप्रति असन्तुष्टि जनाउँदै उनले साउन १ गतेदेखि लागू हुने व्यवस्था अनुसार जग्गा खरिद-विक्री गर्ने दुवै पक्षलाई कर तिर्नुपर्ने निर्णयले सर्वसाधारणमाथि अनावश्यक आर्थिक भार थपिएको बताए।

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा कर बढाउनु उचित नभएको उल्लेख गर्दै सरकारले यस्तो निर्णय पुनर्विचार गर्नुपर्ने माग गरे।

उनले लोकतन्त्रमा सरकार जनताले निर्वाचित गर्ने भएकाले जनमतको सम्मान गर्दै सबै दलसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

नेपालको विकास कुनै एक राजनीतिक दलको प्रयासले मात्र सम्भव नहुने भन्दै राष्ट्रिय सहकार्य र जनहितलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने बताए।

महासेठले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डको संज्ञा दिँदै रोजगारी सिर्जना र आर्थिक विकासमा यसको भूमिका महत्वपूर्ण रहेको बताए।

विश्व अर्थतन्त्रमा देखिएका चुनौती, विशेषगरी इरान-इजरायल द्वन्द्व र बढ्दो महँगीको प्रभाव नेपालमा समेत परेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ