arrow

सरकारले आफ्नो स्वार्थअनुसार कानून बनाउन खोज्दैछ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
shankar-pokhrel-03-04.jpg

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले आफ्नो स्वार्थअनुसार कानून बनाउन र संशोधन गर्न खोजिरहेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षमा डेढ सयभन्दा बढी कानून संशोधन गर्ने तयारी भइरहेको विषय सार्वजनिक भएको उल्लेख गर्दै कानून सुधारका नाममा दुरुपयोग हुन सक्ने खतरा रहेको बताए।

पोखरेलले समयअनुकूल कानून निर्माण र संशोधन आवश्यक भए पनि सरकारको नियतमाथि प्रश्न उठाउँदै कानून सुधारका नाममा स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ मुलुकलाई लैजान खोजिएको आरोप लगाए।

उनले वर्तमान सरकारको कार्यसम्पादनप्रति पनि असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीले 'कामबाहेक केही नगर्ने' भने पनि देशमा विद्युत् आपूर्तिसमेत नियमित हुन नसकेको टिप्पणी गरे।

सामाजिक सञ्जाल र भर्चुअल माध्यममा सरकारको प्रचार धेरै भए पनि जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम हुन नसकेको उनको भनाइ थियो। लोकप्रिय जनादेशबाट बनेको सरकारले नागरिकलाई आश्वस्त बनाउनुपर्नेमा उल्टै सन्त्रस्त बनाएको आरोप उनले लगाए।

महासचिव पोखरेलले यस्तो परिस्थितिमा प्रमुख प्रतिपक्षीका रूपमा एमालेले संसदभित्र सरकारका गतिविधिमाथि प्रभावकारी खबरदारी गर्दै जनताका मुद्दा सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ