जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
351
Shares
काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु-स्मार्ट कृषि विस्तार तथा कृषि क्षेत्रको दिगो रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएकी छन्।
नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु-स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन्।
उक्त लक्ष्य हासिल गर्न चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी (सिडका), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको उनले उल्लेख गरिन्।
उनले अन्तर्राष्ट्रिय साझेदारीमार्फत आधुनिक कृषि पूर्वाधार निर्माण, उत्पादन वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य शृङ्खला विकास गर्ने सरकारको योजना रहेको बताइन्।
मन्त्री चौधरीका अनुसार नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्मको सीमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित छ।
साथै, अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधुनिक परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यात प्रवर्द्धनमा समेत कठिनाइ भइरहेको उनले बताइन्।
उनले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण तथा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नवप्रवर्तन र जलवायु-स्मार्ट प्रविधिको अधिकतम उपयोगमार्फत उत्पादन वृद्धि, दिगो मूल्य शृङ्खला विकास तथा महिला र सीमान्तकृत समुदायको सशक्तीकरण सरकारको प्रमुख लक्ष्य रहेको बताइन्।
मन्त्री चौधरीले चीन सरकार, सिडका र एफएओको सहयोगमा शुरू भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण र दिगो विकाससम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको बताइन्।
उनका अनुसार जलवायु-स्मार्ट कृषि अभ्यासको प्रवर्द्धन, पोषण सुधार, बजार पहुँच विस्तार तथा स्थानीय संस्थागत क्षमता अभिवृद्धिमार्फत परियोजनाले नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप सक्षम, प्रतिस्पर्धी र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मन्त्री चौधरीले नेपाल-चीन सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण र समस्यारहित रहेको उल्लेख गर्दै कृषि आधुनिकीकरण र गरिबी न्यूनीकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने बताइन्।
उनले ज्ञान, प्रविधि र असल अभ्यासको आदान-प्रदानले नेपालको कृषि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।