arrow

बोले झलनाथ- प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रघाती’

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
jhalnaths-04.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो कडा प्रतिक्रिया दिँदै नेता खनालले प्रधानमन्त्रीको उक्त भनाइलाई ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’ को संज्ञा दिएका हुन्।

नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै नेता खनालले देशमाथि भइरहेको बाह्य अतिक्रमणलाई सामान्यीकरण गर्ने वा हलुका बनाउने खालका अभिव्यक्तिले राष्ट्रिय भावनामाथि गम्भीर आघात पुग्ने बताएका छन्। प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा नेपालले पनि भारतको भूमि मिचेको भनी अभिव्यक्ति दिएका हुन् भन्ने प्रश्न समेत उनले उठाएका छन्।

उक्त अभिव्यक्तिले देशभित्र र बाहिर रहेका करोडौँ नेपालीको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात गरेको दाबी गर्दै खनालले भनेका छन्, ‘यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन।’

पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्री शाहको भनाइलाई ‘राष्ट्रघाती अभिव्यक्ति’ को संज्ञा दिँदै प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म यसको विरोध र भर्त्सना गर्न सम्पूर्ण देशभक्त जनता तथा राजनीतिक शक्तिहरूलाई आह्वान गरेका छन्। यसका साथै, राष्ट्रिय हितविपरीत रहेको प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई संसद्को अभिलेख (रेकर्ड) बाट तत्काल हटाउन उनले सभामुखसँग विशेष आग्रह समेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ