arrow

झलनाथको प्रश्न - अपराधीहरू बाहिरै हुँदा कसरी हुन्छ चुनाव ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
jhalnath-07-18.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको वर्तमान सुरक्षा अवस्था र 'जेन–जी' आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देश जलाउनेहरूलाई कानुनको कठघरामा नल्याई निर्वाचन हुन नसक्ने दाबी गरे।

"अपराधीहरु दिनदहाडै हिँडिरहेका छन्" नेता खनालले आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउनेहरूलाई 'अपराधी'को संज्ञा दिँदै वर्तमान अन्तरिम सरकारले उनीहरूलाई किन कारबाही नगरेको भनी प्रश्न गरे। "सरकारको सम्पत्ति जलाउनेहरू अपराधी हुन् कि होइनन्? यो सरकारले उनीहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन?" खनालले भने, "अपराधीहरू दिनदहाडै हिँडिरहेको अवस्थामा देशमा कसरी निर्वाचन हुन सक्छ? निर्वाचन भए पनि त्यसको परिणाम के आउला?"

सुरक्षा चुनौती र पूर्वाधारको अभाव खनालले निर्वाचनका लागि आवश्यक सुरक्षा पूर्वाधार तयार नभएको भन्दै गम्भीर तथ्याङ्कहरू प्रस्तुत गरे। उनले ९० हजार बुलेट र १२ हजार राइफलहरू अझै कब्जामा रहेको र ती नफर्काइएको दाबी गरे। साथै, जेलबाट बाहिर गएका १४ हजार बन्दीमध्ये ६ हजार अझै सम्पर्कमा नआएको भन्दै उनले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाए। उनले चुनावको आवश्यकता भए पनि यस्तो सङ्कटपूर्ण अवस्थामा मतदान गराउनु चुनौतीपूर्ण रहेको औँल्याए।

शिक्षा नीतिमा आमूल परिवर्तनको माग कार्यक्रममा खनालले देशको शिक्षा प्रणालीमा पनि ठूलो सुधारको आवश्यकता रहेको बताए। उनले अहिलेको शिक्षा व्यवस्थाले देशको हित गर्न नसक्ने भन्दै राष्ट्रिय शिक्षा नीतिमै आमूल परिवर्तन गर्न जरुरी रहेकोमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ