काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ७७औँ कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै उनले ७७ वर्षको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै सामाजिक-आर्थिक रूपान्तरणमा केन्द्रित हुन अपिल गरेका हुन्।
नेता खनालले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि शिक्षा, स्वास्थ्य, रोजगारी र प्रशासन जस्ता आधारभूत क्षेत्रमा जनताले परिवर्तन महसुस गर्न नसकेको बताएका छन्। गाँस, बास र कपास जस्ता मौलिक आवश्यकता पूरा नहुँदा जनतामा व्यापक असन्तोष चुलिएको र ठूलो सङ्ख्यामा युवाहरू बिदेसिन बाध्य भएको उनको ठहर छ। यही असन्तोषको फाइदा उठाएर विभिन्न शक्तिहरूले आन्दोलनलाई दिशाहीन बनाउन खोजेको भन्दै उनले चिन्ता व्यक्त गरे।
विज्ञप्तिमा खनालले २०७४ को निर्वाचनमा प्राप्त अभूतपूर्व सफलताको तुलनामा २०८२ को निर्वाचनमा वामपन्थी शक्तिहरू उल्लेख्य रूपमा खुम्चिनुलाई गम्भीर विषयका रूपमा उठाएका छन्। यसको गहिरो विश्लेषण र समीक्षा नगरी आन्दोलनलाई अगाडि बढाउन नसकिने उनको निष्कर्ष छ। उनले नेताहरूले कार्यकर्तालाई दोष दिने प्रवृत्ति त्यागेर आफ्ना कमजोरी पहिचान गर्न र जनतासमक्ष आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन्।
बदलिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुसार नयाँ रणनीति तय गर्नुपर्ने बताउँदै खनालले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा रूपान्तरण गर्न आग्रह गरे। चुनौतीहरूका बाबजुद समाजवादको यात्रा अवरुद्ध नहुने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, "वर्तमान परिस्थिति अस्थायी हो, समाजवादी लक्ष्य अन्ततः हासिल हुनेछ।" उनले 'समृद्ध नेपाल र सुखी नेपाली' को साझा लक्ष्य प्राप्तिका लागि सम्पूर्ण कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गरेका छन्।