arrow

हसिनाको पार्टीका सांसद भएकैले बंगलादेश फर्कन नसकेका शकिबलाई पुनः क्रिकेट खेल्ने अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
shakib-al-husan.jpg
तस्बिर : फाइल

ढाका । बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब अल हसनको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनाका लागि ढोका खुला राखिएको बताएका छन् । 

क्रिकेट मैदानमा लामो समयदेखि चम्कँदै आएका शकिब सन् २०२४ को जनआन्दोलनका क्रममा अपदस्थ भएको तत्कालीन सत्तारूढ दलका सांसदसमेत रहेका थिए । 

पूर्वप्रधानमन्त्री शेख हसिनासँगको निकट सम्बन्धका कारण शकिब जनआक्रोशको केन्द्रमा परेका थिए । विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको घातक प्रहरी दमनसँग जोडेर हसिनामाथि हत्या अनुसन्धान गरिएकामध्ये उनी पनि एक थिए ।

शकिबले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए तर गत महिना उनले आफ्नो त्यो निर्णय फिर्ता लिँदै पुनः खेल्ने इच्छा व्यक्त गरेका थिए । 

बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) का वरिष्ठ अधिकारी अमजद हुसेनले शनिबार राति पत्रकारहरूसँग कुरा गर्दै यदि अवस्था अनुकूल भए शकिबलाई राष्ट्रिय टोलीमा विचार गरिने स्पष्ट पारे । 

“बोर्डले सर्वसम्मत रूपमा निर्णय गरेको छ कि यदि शकिब अल हसनको उपलब्धता, शारीरिक फिटनेस र पहुँचले अनुमति दियो भने र उहाँ खेल हुने स्थानमा उपस्थित हुन सक्नुहुन्छ भने बोर्ड र चयन समितिले उहाँलाई राष्ट्रिय टोलीका लागि विचार गर्नेछ”, उनले भने ।

अमजद हुसेनका अनुसार विदेशी लिगहरूमा सहभागी हुन चाहेमा बिसिबीले शकिबलाई अनापत्ति प्रमाणपत्र (एनओसी) पनि प्रदान गर्नेछ । “यदि उहाँ अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्न चाहनुहुन्छ भने बोर्डले आवश्यकताअनुसार एनओसी उपलब्ध गराउनेछ”, उनले थपे । 

शकिबले यसअघि विद्यार्थी आन्दोलनको समयमा मौन बसेको विषयमा सार्वजनिक रूपमा माफी मागेका थिए तर उनले अपदस्थ सरकारमा सहभागी हुने आफ्नो निर्णयको भने बचाउ गरेका थिए ।

यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शनिबार बङ्गलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराएपछि बङ्गलादेश अर्को महिना हुने टी–२० विश्वकपबाट बाहिरिएको छ । 

बीसीबीले आफ्ना खेलाडीहरू भारत पठाउन अस्वीकार गरेको थियो र खेलहरू सह–आयोजक श्रीलङ्कामा सार्न आग्रह गरेको थियो । 

भारतीय क्रिकेट बोर्डले इन्डियन प्रिमियर लिग टोली कोलकाता नाइट राइडर्सलाई बङ्गलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि नयाँदिल्ली र ढाकाबीचको विवाद यसै महिना शुरू भएको थियो ।

आसीसीसीले भारतमा बङ्गलादेशी टोलीका लागि कुनै विश्वसनीय सुरक्षा खतरा नभएको जनाएको छ । तर बीसीबीले यो विषय आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको बताएको छ । 

“यो सुरक्षासम्बन्धी सरकारी निर्णय हो”, अमजद हुसेनले भने, “यसका कारण हामीले गर्न सक्ने अरू केही थिएन ।”

हसिनाको सरकार पतन हुँदा शकिब क्यानाडामा घरेलु टी–२० प्रतियोगितामा खेलिरहेका थिए र त्यसयता उनी बङ्गलादेश फर्किएका छैनन् । 

बायाँहाते अलराउन्डर शकिबले बङ्गलादेशका लागि ७१ टेस्ट, २४७ एकदिवसीय अन्तर्राष्ट्रिय र १२९ टी–२० खेल खेलेका छन् । यी सबै प्रतियोगितामा उनले कूल ७१२ विकेट लिएका छन् । जसले उनलाई बङ्गलादेश क्रिकेट इतिहासका सर्वाधिक प्रभावशाली खेलाडीमध्ये एक बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ