arrow

चीनविरुद्ध नेपालको २२१ रनको शानदार जित, भुर्तेलको कीर्तिमानी शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
nepal-17-02.jpg

काठमाडौँ  । सिंगापुरमा आइतबार भएको एशियन गेम्स पुरुष टी-२० क्रिकेट छनोटअन्तर्गत समूह ‘ए’ को उद्घाटन खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको चीनको निर्णय नेपालका ब्याटरहरू सामु गलत सावित भयो। नेपाली शीर्षक्रमले शुरूदेखि नै आक्रामक ब्याटिङ गर्दै विशाल स्कोर खडा गर्‍यो।

नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा १६ छक्का प्रहार गर्दै १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले। उनले कुशल मल्लसँग दोस्रो विकेटका लागि १७५ रनको उत्कृष्ट साझेदारी गरे।

मल्ल ४७ बलमा ८५ रन बनाएर अवीजित रहे भने कप्तान रोहित पौडेलले २१ बलमा अवीजित ६९ रनको तुफानी इनिङ्स खेल्दै टोलीलाई २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफलसम्म पुर्‍याए।

३१४ रनको कठिन लक्ष्य पछ्याएको चीनले सुरुदेखि नै दबाब सामना गर्‍यो। नियमित अन्तरालमा विकेट गुमाएको चीन १९.२ ओभरमा ९२ रनमै समेटियो।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले शुरूआती सफलता दिलाए। कुशल मल्लले १.२ ओभरमा कुनै रन खर्च नगरी ३ विकेट लिँदै चीनको तल्लो क्रम ध्वस्त पारे। सोमपालले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए भने सन्दीपले ४ ओभरमा २९ रन दिएर २ विकेट हात पारे।

चीनका लागि शेन्जियान झेङले १५ बलमा ३१ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। नेपालका स्पिनर र मध्यम गतिका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा नेपाललाई सानदार शुरूआत दिलाए।

यो जितसँगै नेपालले प्रतियोगितामा प्रभावशाली शुरूआत गरेको छ भने रनरेटमा पनि बलियो अवस्था बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ