arrow

एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपाल तेस्रो, इन्डोनेसियामाथि नौ विकेटको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
nepal-women-cticket-02-04.jpg

काठमाडौँ। एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपमा नेपालले तेस्रो स्थान हासिल गरेको छ।

मलेसियामा आज बिहान भएको तेस्रो स्थानको प्रतिस्पर्धामा नेपालले इन्डोनेसियालाई एकतर्फी रूपमा ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको हो।

इन्डोनेसियाले दिएको ६९ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा मात्र एक विकेट गुमाएर सहज रूपमा पूरा गर्यो।

नेपालको जितमा साना प्रविणले अविजित २५ रनको संयमित इनिङ्स खेलिन् भने सावित्री धामीले २४ रन जोडिन्। करुणा बिष्ट १६ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसिया नेपाली बलरहरूको कसिलो आक्रमणसामु टिक्न सकेन।

निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६८ रनमा सीमित भएको इन्डोनेसियाका लागि कुनै पनि ब्याटरले प्रभावशाली प्रदर्शन गर्न सकेनन्। नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन् र विपक्षीको ब्याटिङ धराशायी बनाइन्।

नेपालले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे पनि सेमिफाइनलमा यूएईसँग सुपर ओभरमा पराजित हुँदा फाइनल पुग्ने सुनौलो अवसर गुमाएको थियो।

त्यस हारबाट छिट्टै पुनरागमन गर्दै तेस्रो स्थानको खेलमा नेपाली टोलीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा उत्कृष्ट प्रदर्शन गरेको देखियो।

यद्यपि उपाधि जित्ने लक्ष्य पूरा हुन नसके पनि नेपालले प्रतियोगितामा आफ्नो क्षमता र निरन्तरताको स्पष्ट सन्देश दिएको छ।

अझ महत्वपूर्ण पक्ष भनेको नेपाली टोली यसअघि नै एसीसी यू-१९ महिला एसिया कपका लागि छनोट भइसकेको छ।

तेस्रो स्थानको सफलताले आगामी एसिया कपअघि टोलीको आत्मविश्वास थप उकास्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ