एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाइ [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
483
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ। एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको बिदाइ गरेको हो।
टोलीमा कप्तान इन्दू बर्मा र उपकप्तान पूजा महतो छन् । यसैगरी टोलीमा सीता रानामगर, सोनी पाख्रिन, सिमा केसी, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री छन् ।
वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउदलाई राखिएको छ। एसियन गेम्स क्वालिफायर यही मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ।
दुवै प्रतियोगिता मलेसियामा हुनेछ। एसियन गेम्सका लागि ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पहिल्यै छनोट भइसकेका छन्।
बाँकी ४ टोली छनोट हुन बाँकी छ । यसैको लागि नेपालले छनोट प्रतियोगिता खेल्न लागेको हो।
कप्तान बर्माले एसीसी महिला टी-२० प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्समा छनोट हुने आशा व्यक्त गरेकी छिन् ।
मलेसियामा आगामी जुन १ देखि १३ तारिखसम्म महिला टी-२० प्रिमियर कप आयोजना हुँदैछ । जापानमा आयोजना हुने एसियन गेम्सको छनोट चरणसम्म रहेको प्रिमियर कपमा नेपालसहित कूल १८ राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् ।
इन्दूले यसपल्ट राम्रो तयारी भएकाले छनोट हुने आशा व्यक्त गरिन् । उनले यसबीच दुई ओटा अभ्यास खेल पनि खेलेको उल्लेख गर्दै त्यसमा कमीकमजोरी सुधार गरिएको बताइन् ।
अहिले टोली सन्तुलित बनेकाले राम्रो नतिजा लिएर आउनेमा आशावादी रहेको उनी बताउँछिन् । ओपनिङ र मिडल अर्डर या बलिङमा पाएको भूमिकामा हरेक खेलाडीले आफ्नो जिम्मेवारी निभाउन सके राम्रो नतिजा आउने उनको विश्वास छ ।
देशमा जसरी तयारी गरेको छ त्यही प्रदर्शन विदेशमा पनि गर्न आवश्यक रहेको इन्दूको भनाइ छ । एसोसिएट राष्ट्र एसियन गेम्ससम्म पुग्न सके भविष्यमा यसले ठूलो मद्दत पुग्ने उनको भनाइ छ ।
उनले हरेक एउटा खेलमा ध्यान दिएर बिना दबाब खेल्ने बताइन् । प्रिमियर कपमा नेपाल समूह ‘डी’ मा छ । भुटान समूह ‘डी’ मा परेको छ, जहाँ नेपाल, हङकङ, चीन र कतार पनि रहेका छन् । समूह चरणका सबै खेल केटीजे ओभलमा सञ्चालन हुनेछन् ।