घरेलु मैदानमा आज नेपाल स्कटल्याण्डसँग भिड्दै, ईशानको सात वर्षपछि पुनरागमन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
465
Shares
तस्बिर फाइल
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खला आज (मङ्गलबार) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुँदैछ। उद्घाटन खेलमा आयोजक नेपालले बलियो प्रतिस्पर्धी स्कटल्याण्डको सामना गर्नेछ। खेल बिहान ९:३० बजेदेखि शुरू हुनेछ।
घरेलु मैदान र समर्थकको न्यानो साथ पाउने नेपाल यस शृङ्खलामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ। यसअघि ओमान र यूएई सम्मिलित शृङ्खलामा चारमध्ये तीन खेल जितेर उत्कृष्ट लयमा देखिएको नेपालको मनोबल थप उच्च छ। विशेष गरी हालै नेपाल ‘ए’ टोलीले अमेरिका र स्कटल्याण्डका टोलीहरूलाई ‘क्लिन स्वीप’ गरेकाले त्यसको मनोवैज्ञानिक फाइदा राष्ट्रिय टोलीलाई पुग्ने अपेक्षा गरिएको छ।
यस शृङ्खलाका लागि नेपाली टोलीमा एक रोचक परिवर्तन गरिएको छ। राष्ट्रिय घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका ब्याटर ईशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन्। बसिर अहमदको स्थानमा उनलाई टोलीमा समावेश गरिएको हो। पाण्डेले यसअघि सन् २०१९ मा सिङ्गापुरमा जिम्बावेविरुद्ध टी-२० खेल खेलेका थिए।
नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन्। टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।
हाल नेपाल २४ खेलमा ८ जित र १४ हारका साथ १८ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ। शीर्ष स्थानमा रहेको अमेरिकाको ३६ र दोस्रो स्थानको स्कटल्याण्डको ३४ अङ्क छ। अङ्क तालिकामा सुधार गर्न नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण छ।
विगतका भिडन्तहरूमा स्कटल्याण्ड र अमेरिका नेपालका लागि चुनौतीपूर्ण रहँदै आएका छन्। सन् २०२४ मा क्यानडा र अमेरिकामा नेपालले अपेक्षाकृत नतिजा निकाल्न नसके पनि सन् २०२५ मा स्कटल्याण्डमा भएको शृङ्खलामा चारमध्ये तीन खेल जितेको सुखद इतिहास नेपालसँग छ। आजको खेलमा सोही इतिहास दोहोर्याउँदै नेपाल जित निकाल्ने दाउमा छ।