एसियन गेम्स छनोटका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा, रोहित पनि समेटिए
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
498
Shares
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिङ्गापुरमा आयोजना हुने 'मेन्स एसियन गेम्स क्वालिफायर २०२६' का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
क्यानद्वारा आज जारी गरिएको प्रेस विज्ञप्ति अनुसार मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली खेलाडी टोली छनोट गरिएको हो।
यस पटक छनोट भएको टोलीको कप्तानीको जिम्मेवारी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ।
घोषित नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, राष्ट्रिय टिमका एक दिवसीय कप्तान रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन्।
त्यसैगरी टोलीका अन्य सदस्यहरूमा करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की रहेका छन्।
रोहित पौडेल, आशिफ शेख, सोमपाल कामी र करण केसीले टी-२० मा पुनरागमन गरेका हुन्। हेमन्त धामी, सन्तोष खत्री, अर्जुन साउद र गुल्सन झा भने यस पटक टोलीमा परेनन् ।
क्वालिफायर सिंगापुरमा मे ३१ मा हुनेछ। नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा मलेसिया, कतार र चीन नेपालसँगै रहेका छन् । समूह ‘बी’ मा ओमान, हङकङ चाइना, बहराइन र सिंगापुर छन् ।
नेपालले पहिलो खेल चीनसँग खेल्ने तालिका रहेको छ। ८ राष्ट्र सम्मिलित यो छनोटबाट सेमिफाइनलमा पुग्ने ४ टोली जापानमा हुने एसियन गेम्समा छनोट हुनेछन् ।