arrow

अमेरिकाविरुद्ध नेपालको बलियो शुरूआत, कुशल-आसिफको उत्कृष्ट साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
kushal-bhurtel-02-02.jpg

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा जितका लागि १ सय ९६ रनको लक्ष्य पाएको नेपालले ब्याटिङमा पनि उत्कृष्ठ प्रदर्शन गरेको छ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखको जोडीले उत्कृष्ठ ब्याटिङ गरिरहेका छन्।

यो समाचार तयार हुँदै गर्दा २० ओभरको खेल सकिँदा नेपालले ११२ रन बनाको छ, जसमा भुर्तेल ६४ र शेख ४६ रनका साथ क्रिजमा छन्।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १ सय ९५ रनमा अलआउट भएको थियो । एक समय मजबुत अवस्थामा देखिएको अमेरिकालाई नेपालले उत्कृष्ट बलिङ र चुस्त फिल्डिङमार्फत दबाबमा राख्दै सस्तैमा समेट्न सफल भयो ।

अमेरिकाले २३ औं ओभरमा १ विकेट गुमाएर १ सय २२ रन तथा ३१ औं ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । तर त्यसपछि लगातार विकेट गुमाउँदै टोली पूरा ओभर खेल्न नपाउँदै अलआउट भयो ।

अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८९ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । सेहन जयसुर्याले ५२ बलमा ५० रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । यी दुईले दोस्रो विकेटका लागि १ सय रनको साझेदारी गरेका थिए ।

नेपालका सोमपाल कामीले दुवै सेट ब्याटरलाई आउट गर्दै खेलमा नेपाललाई फर्काएका थिए । स्मितलाई आसिफ शेखले उत्कृष्ट क्याचमार्फत आउट गरेका थिए । यसअघि सोमपालकै बलमा आसिफले स्मितको सजिलो क्याच १४ रनमा छाडेका थिए ।

अमेरिका कप्तान मोनान्क पटेलविना मैदान उत्रिएको थियो । स्कटल्यान्डविरुद्धको खेलमा औंलामा चोट लागेपछि उनी अनुपस्थित भएका हुन् । कप्तानीको जिम्मेवारी सम्हालेका साइतेजा मुकामल्लालाई सन्दीप लामिछानेले बोल्ड गरे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी सर्वाधिक सफल बलर बने । उनले ७.३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । यही क्रममा उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पनि पूरा गरेका छन् ।

सोमपाल कामीले ७ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए भने सन्दीप लामिछाने र गुलशन झाले १–१ विकेट लिए । नेपालले फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै शुभम रञ्जने, मोहम्मद मोहसिनलगायतलाई रनआउट गरेको थियो ।

नेपालले यस खेलमा देव्रेहाते ब्याटर इशान पाण्डेलाई डेब्यु गराएको छ । टोलीमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसीको स्थानमा कुशल भुर्तेल, इशान पाण्डे र सोमपाल कामीलाई समावेश गरिएको छ ।

लिग-२ मा अमेरिका २५ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल २५ खेलबाट १८ अंकसहित सातौं स्थानमा रहेको छ । अमेरिकाले यो खेल जिते शीर्ष स्थानमा उक्लिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ