arrow

आईसीसी विश्वकप लिग–२:

सन्दीपको घातक बलिङमा स्कटल्याण्ड मध्यम स्कोरमा रोकियो, नेपालले पायो २४४ रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
rohit-dipendra-vs-scotland.jpg

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा आजदेखि शुरु भएको त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको उद्घाटन खेलमा नेपालले स्कटल्याण्डबाट मध्यम लक्ष्य पाएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनायो।

स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सीले ७७ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई बलियो शुरुवात दिलाएका थिए। त्यस्तै माइकल फिन्ले म्याकक्रेथले ३५, इङ्लिसले अविजित ३४, माइकल लिस्कले २९ र मार्क वाटले २४ रन जोडे।

बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै स्कटल्याण्डको मध्यक्रम ध्वस्त पारे। उनले १० ओभरमा १ मेडनसहित मात्र ४१ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै करण केसी र डेब्युटेन्ट नन्दन यादवले समान २–२ विकेट चट्काए।

यसअघि ओमान र यूएई सम्मिलित शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल आज पनि सोही लयलाई निरन्तरता दिने दाउमा छ। हालै नेपाल ‘ए’ टोलीले अमेरिका र स्कटल्याण्डलाई ‘क्लिन स्वीप’ गरेकाले पनि राष्ट्रिय टोलीको मनोवैज्ञानिक मनोबल उच्च देखिएको छ।

यस शृङ्खलामार्फत ब्याटर ईशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन्। सन् २०१९ पछि पहिलोपटक टोलीमा स्थान बनाएका उनले आज बसिर अहमदको स्थान लिएका हुन्।

हाल नेपाल २४ खेलबाट १८ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ। अङ्क तालिकाको शीर्ष स्थानमा ३६ अङ्कका साथ अमेरिका र दोस्रोमा ३४ अङ्कका साथ स्कटल्याण्ड रहेका छन्। स्कटल्याण्ड र अमेरिका जस्ता बलिया टोली सम्मिलित यो शृङ्खला नेपालका लागि अङ्क तालिकामा फड्को मार्ने सुनौलो अवसर हो। सन् २०२५ मा स्कटल्याण्डमै भएको शृङ्खलामा चारमध्ये तीन खेल जितेको इतिहास दोहोर्‍याउँदै नेपाल आज घरेलु दर्शकमाझ सुखद नतिजा निकाल्ने लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिँदै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ