जानेर-बुझेर नियतवश दाग लाग्ने काम गर्दिन : मन्त्री खरेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
1k
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतवश कुनै खराब काम नगर्ने बताएका छन् ।
बिहीबार श्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा खरेलले मन्त्री पदमा बसेको समयमा जानेर-बुझेर नियतबस कुनै खराब काम नगर्ने भन्दै जस्तो आएको त्यस्तै जान पनि तयार भएको बताए ।
काम नै नगरे पनि कुनै काम बिगारेको दाग लिएर नजाने पनि उनको भनाइ छ । उनले भने, ‘जिन्दगीको नयाँ मोडमा आएको छु। विशेष परिस्थितिमा विशेष भूमिकामा आउनुपरेको छ । यति चाहीँ भन्न चाहन्छु - कति गर्न सकिएला पाँच महिना माथिको अवधिमा त्यो त थाहा छैन् । तर तपाईँहरूलाई साक्षी राखेर भन्छु, जानेर-बुझेर नियतवश खराब केही गर्ने छैन । बरु जस्तो गएको त्यस्तै फर्किने छु । कति गरिस्, कति गरिनस् हिसाबकिताब समयले गर्ला । तर यति बिगारेर आएर निधारमा लगाएको दागको छिट्टा पर्यो भन्ने अवस्था आउन दिन्न । यो सम्मान ग्रहण गरी राख्दा त्यसको गरिमा राख्ने म प्रयास गर्नेछु ।’
उनले कार्यक्रममा उपस्थित श्रष्टाहरूको अगाडि आफू उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले नयाँ भएको भन्दै श्रष्टाहरूले देखाएको बाटोमा सधैँ हिड्न तयार रहेको बताए ।
उनले भने, ‘श्रष्टाहरूको सक्रियताले सधैँ उर्जा दिन्छ । हामीले उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले तपाइँहरूभन्दा नयाँ छौँ सिक्दै छौँ । त्यसैले यो देशको समृद्धिको लागि साहित्य, कला, संस्कृतिको जर्गेनाको लागि मौलिकतालाई जोगाउने अभियानको लागि जे जसरी यहाँहरू अहोरात्र खटेर लागिराख्नु भएको छ यसले नतमस्तक बनाएको छ । त्यसैले तपाईँहरूले डोहोर्याएको बाटोमा सँधै हिँड्न सकौँ ।’