स्मार्ट टेलिकम घोटाला प्रकरण: सांसद खरेलले गरे प्रमाणित भए सन्यास लिने घोषणा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
426
Shares
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकम घोटालामा आफ्नो संलग्नता रहेको भनी प्रकाशित समाचारप्रति कडा आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उक्त प्रकरणमा आफू संलग्न भएको प्रमाणित भए राजनीतिक जीवनबाटै सन्यास लिने घोषणा गरे।
आफूलाई जोडेर आएका समाचारहरू निरर्थक, भ्रामक र घटिया भएको दाबी गर्दै सांसद खरेलले आफ्नो र पार्टीको बदनाम गराउने उद्देश्यले यस्ता भ्रामक सूचना फैलाइएको बताए। उनले सञ्चारमन्त्रीको रूपमा कार्यकाल सम्हाल्दा उक्त कम्पनीसँग एक पटक पनि बैठक नबसेको जिकिर गरे।
सदनमा बोल्दै सांसद खरेलले भने, "स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर सुटुक्क स्विजरल्याण्ड भागे भनी लेखिएको समाचार सी ग्रेडको पत्रकारिता भन्न पनि नसुहाउने खालको छ। यसले मेरो मान–सम्मान, प्रतिष्ठा र समग्र संसद्कै अपमान गरेको छ।" उनले अगाडि थपे, "म चुनौती दिन चाहन्छु, स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा फाइल मात्र तलमाथि गरेको वा एउटा मात्र मिटिङ गरेको प्रमाणित भए म सम्पूर्ण राजनीतिक जीवनबाट सधैँका लागि बिदा लिन तयार छु।"
सांसद खरेलले उक्त समाचार आफ्नो प्रतिष्ठामा आँच पुर्याउने गलत मनसायका साथ सम्प्रेषण गरिएको बताए। उनले यस्ता भ्रामक समाचारको खेद र भत्र्सना गर्दै संसद्को रेकर्डमा आफ्नो स्पष्टीकरण रहोस् भन्ने चाहना व्यक्त गरे।