तीनओटा समितिको बैठक बस्दै, प्रतिवेदन र अनुगमन समीक्षामाथि छलफल
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
419
Shares
काठमाडौँ। व्यवस्थापिका संसद्अन्तर्गतका तीनओटा विषयगत समितिको बैठक आज सोमबार बस्दै छ। आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:०० बजे तय गरिएको छ। यस बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनबारे विस्तृत छलफल हुने कार्यसूची रहेको छ।
यसैगरी, दिउँसो १:०० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गरिनुका साथै विविध विषयमा छलफल हुने जनाइएको छ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो २:१५ बजे बस्ने कार्यतालिका छ। उक्त बैठकमा मुख्य गरी ऐन कार्यान्वयनको मापन, विधायिकी अन्तरसम्बन्ध तथा अन्य विविध समसामयिक विषयहरूमा छलफल हुने कार्यसूची तय भएको छ।