arrow

 ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सञ्चार मन्त्री खरेल सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
hariprasad-kalyani-2082.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित भएका छन् । 

हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले आज जमलस्थित राष्ट्रिय नाचघरमा अयोजना गरेको नाट्यसङ्गीत एवं सञ्चार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई उक्त सम्मान प्रदान गरिएको हो । संस्थाका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीले मन्त्री खरेललाई दोसल्ला ओढाएर ताम्रपत्र र नगदसहित सम्मान गरे ।

सञ्चारमन्त्री खरेललाई पत्रकारिता विधामा खासगरी टेलिभिजन पत्रकारिताका माध्यमबाट मुलुक र जनताको आवाजलाई मुखरित गरी जनताको सच्चा पहरेदारी र पैरवी गरेबापत उक्त सम्मान प्रदान गरिएको हो । 

अढाइ दशकदेखि पत्रकारिता र सञ्चारकर्ममा क्रियाशील खरेलको नेपाली पत्रकारितालाई नयाँ उचाइमा स्थापित गर्न महत्त्वपूर्ण योगदान रहेको छ । 

त्यसैगरी ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्यसङ्गीत सम्मान’बाट वरिष्ठ गायिका मीरा राणा र धिरज राई सम्मानित भएका छन् । रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रङ्गकर्मी स्वर्गीय हरिप्रसाद रिमालको साथमा उनकी धर्मपत्नी कल्याणी रिमालका नाममा स्थापित उक्त पुरस्कार तथा सम्मान सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विभिन्न व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले सञ्चार कर्म गरेबापत प्राप्त सम्मानले थप ऊर्जा र प्रेरणा मिलेको बताए । उनले भने, “म यहाँ मन्त्रीका रूपमा आएको छैन । असोज ५ गतेसम्मको क्रियाशील सञ्चारकर्मी हुँ । अहिले भूमिका फरक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेको छु । गरिमामय संस्थाबाट सञ्चारकर्मीकै नाताले यति ठूलो सम्मान ग्रहण गर्ने निधो गरेँ ।”

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले अबको पाँच महिनाभित्र जेन–जी आन्दोलनको भावनाअनुरुप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने उल्लेख गरे ।

“अबको पाँच महिनाको अवधिभित्र खासगरी जेनजी आन्दोलनले दिएका ‘म्यान्डेड’हरू पूरा गर्नुपर्ने छ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकारले प्राप्त म्यान्डेड सफलताकासाथ पूरा गर्न हामी अहोरात्र खटिइरहेका छौँ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ