म्याग्दी । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउने हेरालु परिचालन गरिएको जानकारी दिए ।
“नदीमा आउने बाढीका कारण तटीय क्षेत्रमा जोखिम हुने भएकाले माथिल्लो क्षेत्रमा हेरालुको व्यवस्था गरेका छौँ”, उनले भने, “छवटा स्थानीय तहमा एक÷एक जना हेरालु राखेका छौँ ।” पानी परेको दिन आवश्यकताअनुसार हेरालुले स्थानीय तह, जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल शाखा र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा हेरालुले नदीमा बाढीको अवस्थाको बारेमा जानकारी गराउदछन् ।
सूचनाको आधारमा नजिकको चौकीबाट घटनास्थलमा तत्कालै प्रहरी खटाउने र आवश्यकता परेको अवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेनालाई परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ । अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगङ्गा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मङ्गला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले दरवाङ र धौलागिरि गाउँपालिको मुना र मुदीमा हेरालु राखेका छन् ।
बेनीस्थित भू-तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू-क्षयबाट प्रभावित भएको जानकारी दिए ।
यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुबेँसी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानाबगर, काशेबगर, ताराखेत, सिङ्गा तातोपानी, बगरफाँट, गलेश्वर, भुरुङ्ग तातोपानीमा कटानको जोखिम भएको सहायक संरक्षण अधिकृत मिश्रले बताए ।