चित्लाङ खण्डमा भइरहेको ढुङ्गा व्यापार तत्काल बन्द गर्न अर्थमन्त्रीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
585
Shares
काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् ।
शुक्रवार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘व्यापार’का कारण भइरहेको ढिलासुस्तीको अन्त्य गर्न तत्काल पहल गर्ने बताएका हुन् ।
आफूले चन्द्रागिरि–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको सुनेकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारु गर्ने मन्त्री शर्माले बताएका हुन्।
‘चन्द्रागिरिको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु’, मन्त्री शर्माले भने, ‘यहाँको अहिलेको ठुलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु । त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहल कदमी लिनेछु ।’
अर्थमन्त्री शर्माले काठमाडौँको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरि क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने बताएका छन् ।