सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै हुन् - जनार्दन शर्मा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
657
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै भएको आरोप लगाएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई विश्वास नगरेको र अधिकार नदिएको बताए। उनले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि सङ्घले विनियोजन गर्ने परिपाटी रहेको भन्दै सङ्घीयताको विरोधी अरू कोही नभएर सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै भएको जिकिर गरे।
शर्माले सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू सत्तामा पुग्दा सङ्घीयता कार्यान्वयन नहुने गरेको बताउँदै कानुन नबन्दा प्रदेश सरकारले अधिकार नपाएको बताए। बनेका कानुनको अधिकार प्रदेशलाई हस्तान्तरण नहुने, बनेको कानुन कार्यान्वयन नहुने, बजेट फिर्ता ल्याइने जस्ता कामहरू सङ्घ सरकारबाट भएको भन्दै उनले सङ्घीयता प्रतिको बुझाइ नै बेठिक भएको जिकिर गरे।
उनले भने, “सङ्घीयता कार्यान्वयनमा मानसिकताको कुरा गर्दा खेरी बजेट कहाँ कति दोस्रो कुरा हो, ५० हजार, २५ हजारका सङ्घले हाल्ने के हो त त्यो? त्यो मानसिकता त हो। तल संयन्त्र छ, संरचना छ, उसलाई कार्यान्वयन गर्ने विश्वास छैन, दिइँदैन। त्यो खालको मनोविज्ञानले काम गरिरहेको छ। सङ्घीयताको विरोधी अरू कोही होइन, सङ्घीयताका विरोधी सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै छन्। आफू सत्तामा पुग्दा कार्यान्वयन भइराखेको छैन। कानुन बनिराखेको छैन। कानुन नबनेर तल प्रदेशले आफ्ना अधिकार पाइराखेको छैन। बनेका कानुनको अधिकार हस्तान्तरण भएको छैन। बनेको कानुन कार्यान्वयन हुँदैन। तल दिइएको बजेट फिर्ता ल्याइन्छ। कुन योजना कसको भनेर छुट्याइएको छैन। यसले गर्दा हाम्रो सङ्घीयता प्रतिको बुझाइ नै बेठिक छ।”
उनले सङ्घीयता कार्यान्वयनको लागि सङ्घीयताका पक्षधरहरूले दबाब दिनुपर्नेमा जोड दिए।