चुरे विनाश मुख्य कारण मधेसमा मरुभूमीकरणको खतरा बढ्यो - सांसद शर्मा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
2k
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले मधेस प्रदेशमा दशकौँदेखि अलपत्र पारिएका खानेपानी आयोजनाका कारण मरुभूमीकरण बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शर्माले मधेसवासीलाई तत्काल खानेपानी, सिँचाइ र मल आपूर्ति व्यवस्थापन गर्न सरकारसँग माग गरे। उनले मधेसवासीले बोरिङ चलाएबापत लाग्ने विद्युत् महसुलसमेत सरकारले तिर्नुपर्ने बताए।
शर्माले भने, “मधेसमा करिब तीन दशकदेखि सुरु भएका खानेपानी आयोजनाहरू अधुरा छन्। ती पूरा नभएको कारणले पनि पानीको हाहाकार भएको छ। चुरेको विनाशका कारणले पनि आज यो संकट उत्पन्न भएको छ। केही वर्षपछि यस्तै भयो भने मरुभूमि हुने भन्ने वैज्ञानिकहरूको भनाइ छ।”
उनले किसानहरूले खानेपानी, सिँचाइ र मलसमेत पाउन नसकेको भन्दै सीमा नाकाबाट मल ल्याउन दिनुपर्ने माग गरे। शर्माले चुरे क्षेत्रको विनाश बढ्दै गए केही वर्षमा मरुभूमिमा परिणत हुने सम्भावना औँल्याउँदै चुरे संरक्षणप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।