नेपाली कम्युनिष्ट आन्दोलन विघटनको अन्तिम संघारमा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
249
Shares
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिष्ट आन्दोलन आफ्नो सिद्धान्त र व्यवहारबीचको गहिरो अन्तरविरोधका कारण विघटनको अन्तिम संघारमा पुगेको बताएका छन्।
बुधवार आयोजित ‘दर्शनशास्त्रको इतिहास’ पुस्तकमाथिको परिचर्चा कार्यक्रममा बोल्दै शर्माले माक्र्सवादी दर्शनको मूल सार समाजको परिवर्तन भए पनि नेपाली कम्युनिस्ट आन्दोलन त्यसलाई व्यवहारमा उतार्न असफल भएको दाबी गरे।
उनका अनुसार किताबी सिद्धान्त र जीवन व्यवहारबीचको दूरी, संसदवादप्रतिको अत्यधिक झुकाव तथा जडसूत्रीय ढंगले माक्र्सवादलाई व्याख्या गर्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको छ।
उनले भौतिकवादी दर्शनको वकालत गर्ने नेताहरू व्यवहारमा भने आदर्शवादी बनेको आरोप लगाए। भनाइमा भौतिकवादी र आचरणमा आदर्शवादी नेतृत्वकै कारण कम्युनिस्ट आन्दोलन संकटमा परेको भन्दै आफूमा समेत यस्ता कमजोरी रहेको स्वीकार गरे।
शर्माले नेपालमा अहिले वास्तविक अर्थमा कम्युनिस्ट पार्टी छ कि छैन भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको बताए। “कुन सिद्धान्तका आधारमा कसलाई कम्युनिस्ट पार्टी भन्ने ? जनताको जीवन र संघर्षसँग जोडिन नसक्ने शक्तिलाई कसरी कम्युनिस्ट मान्ने ?” भन्दै उनले प्रश्न उठाए।
उनले उत्पीडित वर्ग, जाति, क्षेत्र, भाषा र लैंगिक समुदायको नेतृत्व गर्न तथा उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउन कम्युनिस्ट आन्दोलन असफल भएको दाबी गरे।
सुकुमवासी समस्या, वर्गीय तथा जातीय विभेद, भाषिक असमानता र राज्यका स्रोत-साधनमा तल्लो वर्गको पहुँच नहुनु आन्दोलनका कमजोरीको प्रमाण भएको उनको भनाइ थियो।
शर्माले वर्तमान राजनीतिक अवस्थाको मुख्य जिम्मेवार कम्युनिस्ट दलहरू नै रहेको दाबी गर्दै जनताका मुद्दामा दृढतापूर्वक उभिन नसक्नु र भ्रष्टाचारमा मुछिनुले उनीहरूको जनसमर्थन खस्किएको बताए।
उनले क्रान्तिकारी माक्र्सवादी दिशाबाट मात्रै समाज रूपान्तरण सम्भव हुने उल्लेख गर्दै यस्ता विचार उठाएकै कारण आफू तत्कालीन माओवादीबाट बाहिरिनुपरेको गुनासो पनि गरे।