देशलाई माया गर्दा दैनिक १० हजार गाली खानु परिरहेको छ: हर्कराज राई
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
352
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले देशलाई बिछट्टै माया गरेकै कारण आफूले दुनियाँभरका मान्छेबाट गाली र अपमान सहनुपरेको गुनासो गरेका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले देशको हितका लागि निरन्तर आवाज उठाउँदा आफू सामाजिक सञ्जालमा सङ्गठित रूपमै तिरस्कारको सिकार भइरहेको बताए।
उनले आफू धरानको मेयर हुँदा दैनिक करिब एक हजार वटा गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो सङ्ख्या बढेर दैनिक १० हजार पुगेको उल्लेख गरे। दार्चुलामा महाकाली नदीमाथि तुइन विस्थापनका लागि झोलुङ्गे पुल बनाउने क्रममा पनि आफूलाई व्यापक रूपमा गाली गरिएको भन्दै उनले सामाजिक सञ्जालमा आफूविरुद्ध योजनाबद्ध रूपमा गाली अभियान सञ्चालन भइरहेको आशङ्का व्यक्त गरे।
नेपाली समाजमा अरूले गरेको राम्रो कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने निकृष्ट प्रवृत्ति रहेको टिप्पणी गर्दै अध्यक्ष राईले यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने स्पष्ट पारे। आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष हर्कराज राईले भने: ‘संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला। मैले किन गाली खाइराख्नु परेको छ भन्दाखेरि म यो देशलाई बिछट्टै माया गर्छु। मलाई गाली गर्ने ती सम्पूर्ण महानुभाव, विद्वान् र बौद्धिक मित्रहरूलाई मेरो हार्दिक सम्मान छ। तपाईंहरू मेरो खुट्टा तानिरहनुस्, म आफ्नो बाटो हिँडिरहन्छु, अन्ततः जित मेरै हुनेछ। दार्चुलामा पुल थाप्न जाँदा थुप्रैले खुट्टा ताने, तर हामीले पुलको लट्ठा तानेर अब १०–१५ दिनमा उद्घाटन गर्ने अवस्थामा पुर्याएका छौँ। यदि गाली गर्नु नै तपाईंहरूको पेसा हो भने एउटा गाली कम्पनी खोल्नुस्, त्यसको चेयरम्यान बन्नुस्, तर त्यो कम्पनीको उद्घाटन चाहिँ मेरै हातबाट रिबन काटेर गराउनुस्।’
अध्यक्ष राईले प्रधानमन्त्री वालेन्द्र साहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको गम्भीर आरोप समेत लगाए। उनले देशको सिमाना सुस्तामा भारतीय सेना आएर हतियार देखाउँदै अतिक्रमण गर्न थालेको दाबी गर्दै त्यहाँ तत्काल नेपाली सेना र सुरक्षाकर्मी पठाउनुपर्ने माग गरे। सीमा सुरक्षाका विषयमा राज्य संवेनशील हुनुपर्नेमा जोड दिँदै उनले संसद्को रोस्ट्रममा उभिएर जनतालाई उत्तर दिनु प्रधानमन्त्रीको दायित्व भएको बताए।
उनले विदेशी ऋणको भारी बोकेर ठुला संरचना बनाई विकासको फुइँ लाउनुभन्दा आफ्नै ढुङ्गा, माटो र पसिनामा आधारित स्वाभिमानी एवं स्वाधीन अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा राखे। राष्ट्रियता, श्रम र सीमाको कुरा गर्दा आफूलाई हावामा गाली गरिएको भन्दै उनले गाली गर्नेहरूलाई "के तपाईंको मनले साँच्चै हर्क साम्पाङ गलत हो भन्छ त?" भनी प्रश्न गरे।
आफ्नो पार्टीका कोही पनि सांसद वा नेताले भ्रष्टाचार नगर्ने दाबी गर्दै अध्यक्ष राईले पार्टी सङ्गठनलाई देशभर विस्तार गरिने उल्लेख गरे। उनले देशमा श्रम संस्कृतिको स्थापनाका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आम नागरिकसँग जोडदार आग्रह समेत गरे।