गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य हुँदैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
353
Shares
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साहको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टीकरण दिने सहमति भएपछि सदनको बैठक शुरू भएको छ।
सत्तापक्ष र अधिकांश विपक्षी दलबीच परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने सहमति बनेपछि बैठक सञ्चालन भएको हो। तर प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने अडान कायम राखेको छ।
पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री उपस्थित नभई अन्य मन्त्रीमार्फत जवाफ दिनु न्यायसंगत र संविधानसम्मत नहुने बताएका छन्।
प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा संसद्मा पठाउनुपर्ने उनको माग छ।
उनले ‘गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य नहुने’ भन्दै प्रधानमन्त्रीलाई नै जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे।
प्रधानमन्त्री साहले हालै दिएको अभिव्यक्तिमा भारतले मात्र नभई नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर संसद् र राजनीतिक वृत्तमा तीव्र विवाद उत्पन्न भएको छ।