नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्तापक्षका सांसद देख्दा लज्जित छु: भीष्मराज आङ्देम्बे
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
331
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर प्रमाण खोज्दै हिँड्ने सत्तापक्षका सांसदहरूको हर्कत देख्दा आफू लज्जित भएको टिप्पणी गरेका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रियताको संवेदनशीलतालाई बिर्सेर सत्तापक्षका केही सांसदहरूले उल्टै नेपालले नै भारतको सीमा मिचेको पुष्टि गर्न न्वारनदेखिको बल लगाएको भन्दै आपत्ति जनाए।
नेता आङ्देम्बेले देश र जनता कसैले पनि नरुचाउने खालको यस्तो हर्कत गर्ने सांसदहरूलाई राष्ट्रिय विभूति वीर भक्ति थापाको आत्माले पनि धिकार्ने बताए। उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूमि भएको तथ्य दुनियाँलाई थाहा भएको र संसद्ले सर्वसम्मतिले नक्सा पारित गरिसकेको अवस्थामा यसको समाधान उत्तेजनामा नभई गहन कूटनीतिक संवादमार्फत खोजिनुपर्ने स्पष्ट पारे।
बैठकमा बोल्दै नेता आङ्देम्बेले सत्तापक्षका कारण संसद्मा प्रश्न गर्ने क्षमताको 'आत्महत्या' भइरहेको कारुणिक दृश्य आफूले देख्नुपरेको गुनासो गरे। उनले विगतमा नेपाली काङ्ग्रेस सरकारमा हुँदा आफ्नै मन्त्री र प्रधानमन्त्रीका कमजोरीमाथि काङ्ग्रेसकै सांसदहरूले रोस्टममा उभिएर प्रहार गर्ने गरेको स्मरण गराए।
उनले भने, "दुनियाँलाई थाहा छ सभामुख महोदय, लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो। यो विषयको हल उत्तेजना र आवेशले होइन, संयमित ढङ्गले गहन संवाद र कूटनीतिक प्रक्रियाबाट हुनुपर्दछ। त्यसका लागि प्रतिपक्ष जहिले पनि सरकारको साथमा छ। तर, आज सत्ताको कित्ताबाट कसैले 'मेरो देशले कसैको सीमा कहाँ मिचेको छ?' भनेर प्रश्न गर्लान् भनेको त उल्टै कतिपय सांसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारनदेखिकै बल लगाएर दौडिरहेका छन्। नेपालले मिचेको भूमि खोजिराखेका छन्। यस्तो हर्कत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको आत्माले धिकार्ला। काङ्ग्रेस लास र दासको पार्टी होइन, त्यसैले हामी नैतिक धरातलमा उभिएर बोल्न सक्छौँ।"
सरकार र सत्तारूढ दल सीमाजस्तो गम्भीर विषयमा गैरजिम्मेवार देखिएको आरोप लगाउँदै उनले संसद्को गरिमा र राष्ट्रिय हितको रक्षाका लागि सत्तापक्षका सांसदहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरे।