हट्यो संसद्को गतिरोध: परराष्ट्र मन्त्री खनाल स्पष्टीकरण दिँदै, हर्कको असहमति
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
348
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहको नेपाल–भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिका बारेमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा स्पष्टीकरण दिने विषयमा राजनीतिक सहमति जुटेसँगै अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक सञ्चालन भएको छ। परराष्ट्रमन्त्री खनालले संसद्मा सरकारी पक्षबाट स्पष्टीकरण दिने विकल्पमा अधिकांश विपक्षी दलहरू सहमत भएपछि बैठक सुचारु भएको हो।
यद्यपि, प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले भने यो प्रक्रियाप्रति कडा आपत्ति जनाउँदै संसद्मा विरोध कायम राखेको छ। सो पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने अडान दोहोर्याए। उनले गल्ती एउटाले गर्ने र अर्को मन्त्रीले त्यसको बचाउ वा सच्याउने अभ्यास संसदीय लोकतन्त्र, न्याय र संविधानसम्मत नभएको टिप्पणी गरे।
अध्यक्ष राईले भने, "प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीज्यूले जवाफ दिने कुरा सुन्नमा आएको छ, जसमा हाम्रो कुनै सहमति छैन। यो प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरा हो। उहाँ संसद्मा आउँदै नआउने र अरू कसैले स्पष्टीकरण दिने कुरा न्यायसङ्गत छैन। यदि प्रधानमन्त्री यहाँ बोल्न आउन सक्नुहुन्न भने उहाँले आफ्नो आधिकारिक धारणा लिखित रूपमा पठाउनुपर्यो। नत्र एउटाले गल्ती गर्ने र अर्कोले सच्याउने कुरामा हामी सहमत हुन सक्दैनौँ।"
यसअघि प्रधानमन्त्री साहले भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको भनी दिएको कूटनीतिक स्टेटमेन्ट विवादमा परेको थियो। सोही अभिव्यक्तिका कारण संसद् लगातार अवरुद्ध हुँदै आएकोमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने गरी संसद् खुलाइए पनि श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्रीको प्रत्यक्ष जवाफ वा लिखित जवाफको मागलाई निरन्तरता दिने सङ्केत गरेको छ।