arrow

संसदमा हर्कराजको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
harkaraj-rai.jpg

काठमाडौँ । प्रतिपक्ष दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले वर्तमान सरकारको कार्यशैलीप्रति कडा प्रहार गर्दै जनताले राज्यबाटै असुरक्षा महसुस गरिरहेको बताएका छन्। मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री वालेन्द्र साहको योग्यता र क्षमतामाथि प्रश्न उठाए।

अध्यक्ष राईले प्रधानमन्त्री साहले संसद्मा उठेका प्रश्नहरूको सामना नगरेको भन्दै आक्रोश व्यक्त गरे। "यो सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने उनले संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन?" उनले प्रश्न गरे, "सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनु सरकार प्रमुखको दायित्व हो। संसद्मा उभिएर जवाफ नदिनु भनेको जनतालाई उपेक्षा गर्नु हो।" उनले जनताका प्रश्नको उत्तर दिन नसक्नु प्रधानमन्त्रीको 'अयोग्यता र असक्षमताको नमुना' भएको टिप्पणी गरे।

अध्यक्ष राईले जनताको जिउधनको सुरक्षा र सीमा रक्षा गर्न सरकार असफल भएको दाबी गरे। जनता सरकारसँग डराएर बाँच्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि घातक भएको उनको तर्क थियो। "जनताले सरकारबाटै असुरक्षित महसुस गरिरहेका छन्। के जनता सरकारसँग डराएर बाँच्नुपर्ने व्यवस्थालाई लोकतन्त्र भन्न मिल्छ?" उनले प्रश्न गरे।

उनले थपे, "जनताको जिउधनको सुरक्षा गर्न नसक्ने र सीमा रक्षा गर्न नसक्ने सरकारलाई कुनै पनि हालतमा सफल भन्न सकिँदैन।" अध्यक्ष राईले प्रधानमन्त्री साहलाई संसद्मा उपस्थित भएर जनताका जिज्ञासाको आधिकारिक जवाफ दिन र लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर्न चेतावनी समेत दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ