संसदमा हर्क 'स्टाइल' : जिद्दी तर स्पष्ट [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
363
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रतिनिधि सभा बैठकमा आफ्नो छुट्टै शैली बनाएका छन् । उनी विरोधका लागि खरो भएर उत्रन्छन् । निर्वाचित भएर आएदेखि नै उनी सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि खरो भएर उत्रेका हुन् ।
त्यसो त उनले आफ्नो मागमा न त लचक हुन्छन् न कुनै बिन्दुमा पुगेर सहमति गर्छन् । उनले चाहेको माग जस्ताको त्यस्तै पुग्नुपर्छ ।
उनी बुधबार पनि खरो नै भएर उत्रे । प्रधानमन्त्री वालेन्द्र साह बालेनको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टीकरण दिने सहमति भएपछि विपक्षी दलहरू सहमत भए । तर हर्क भएनन् । उनले सदनमा विरोध गरे ।
सत्तापक्ष र अधिकांश विपक्षी दलबीच परराष्ट्र मन्त्रीमार्फत जवाफ दिने सहमति बनेपछि बैठक सञ्चालन भएको थियो । तर हर्कसहित उनको पार्टीले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने अडान कायम राखेको छ।
हर्कले प्रधानमन्त्री उपस्थित नभई अन्य मन्त्रीमार्फत जवाफ दिनु न्यायसंगत र संविधानसम्मत नहुने बताएका छन् । प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा संसद्मा पठाउनुपर्ने उनको माग छ।
उनले ‘गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य नहुने’ भन्दै प्रधानमन्त्रीलाई नै जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले मन्त्री खनालले बोलिरहँदा पनि विरोध गरिरहे ।
सभामुख डोलप्रसाद अर्यालले सदन अगाडि बढाए । कार्यसूचीमै प्रवेश गरे । त्यसपछि उनको दलले वेल घेराउ गर्यो । विरोध गरिरहे ।
प्रधानमन्त्री साहले हालै दिएको अभिव्यक्तिमा भारतले मात्र नभई नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर संसद् र राजनीतिक वृत्तमा तीव्र विवाद उत्पन्न भएको छ।
निरन्तरको विरोध पछि सभामुखले हर्कलाई रोष्टममै आएर बोल्न दिए । उनले भने, 'प्रधानमन्त्रीलाई बोलाउन पनि आन्दोलन गर्नुपर्ने देश, संसदमा बोल्न पनि आन्दोलन गर्नुपर्ने देश, मारकाट हुने देश, अब म केही बोल्दिन ।'
उनले संविधानको उल्लंघन नगर्न आग्रह गरेका छन् । विधिको शासन भन्ने अनि प्रधानमन्त्रीले विधिको शासन मान्न नपर्ने ? भनेर उनले चिन्ता व्यक्त गरे ।
सीमाका विषयमा उनले प्रधानमन्त्री साहलाई संसदमै आएर स्पष्ट पार्न आग्रह गरे । उनले प्रधानमन्त्रीले बोलेको विषय गम्भीर चिन्ताको विषय भएको बताए ।
उनले प्रधानमन्त्री असफल हुँदा देश असफल हुने बताए । उनले प्रधानमन्त्रीलाई स्पष्टै भनेका छन् - प्रधानमन्त्री देशभन्दा ठूलो हैन ।
उनले नेपाली सेनालाई ब्यारेकमा राख्नुभन्दा सीमामा लैजान पनि आग्रह गरेका छन् । उनले पहिलेकाले पनि गरेनन् भनेर यसपालि पनि नगर्ने भन्ने नभएको भन्दै सीमा रक्षामा सबैको राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिए ।
हर्कले आज सभामुखलाई 'कारबाही गरेर देखा' पनि भने । सभामुखले आफ्नो भूमिका बिर्सेर सत्ताकै पक्षमा लागेपछि उनी रिसाएका हुन् । सभामुखले पनि अमर्यादित भाषाको प्रयोग नगर्न सचेत गराए ।
हर्कले अन्तिममा श्रम संस्कृतिका कारण आजको कार्यक्रम रोकिन गएकामा क्षमासमेत मागेका छन् । रोष्टममै पुगेर बोल्न पाएपछि भने संसदमा उनको अवरोध पनि रोकिएको छ ।