arrow

प्रतिनिधि सभा बैठक बहिष्कार गरे हर्कले, भने- सत्तारुढ दलले संसद् मनखुसी चलाए [भिडियो]

श्रम संस्कृति पार्टीलाई कसैले पनि 'हेप्न' नसक्ने दाबी गर्दै आगामी दिनमा झन् सशक्त रूपमा प्रस्तुत हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
harka-rai.jpg

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सत्तारुढ दलले संसद्लाई मनपरी ढङ्गले सञ्चालन गरिरहेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

अध्यक्ष राईले प्रधानमन्त्री संसद्‌मा उपस्थित भएर जवाफ दिनुको सट्टा निरन्तर पन्छिरहेको बताए। "प्रधानमन्त्री कहिल्यै नआउने, आफूले टेबुल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ," उनले भने, "सत्तारुढ दलले संसद् मनखुसी चलाइरहेको छ।" उनले सांसदहरूलाई अध्ययनका लागि पर्याप्त समय नदिई 'ठेलीका ठेली' किताब दिएर भोलिपल्टै छलफलमा बोलाउने प्रवृत्ति गलत भएको टिप्पणी गरे।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई औपचारिकतामा मात्रै सीमित गरिएको राईको ठम्याइ छ। संसद्‌मा गम्भीर र प्रभावकारी बहस हुनुपर्नेमा सरकारले पर्याप्त समय र महत्त्व नदिएको उनले गुनासो गरे।

आफ्नो पार्टीलाई कसैले पनि 'हेप्न' नसक्ने दाबी गर्दै राईले आगामी दिनमा श्रम संस्कृति पार्टी संसद्‌मा झन् सशक्त रूपमा प्रस्तुत हुने बताए। विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै सदन अवरुद्ध र बहिष्कार गरिरहँदा राईले पनि सोही मुद्दामा ऐक्यबद्धता जनाएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ