संसद्मा माफी नमागेसम्म बजेटमाथि छलफल हुन दिँदैनौँ: हर्कराज राई [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
802
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै उनले संसद्मा आएर माफी माग्नुपर्ने अडान दोहोर्याएका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले प्रधानमन्त्री साहले भारतलाई रिझाउने हिसाबले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको हुन सक्ने आशङ्का व्यक्त गरे।
प्रधानमन्त्री साहको ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता र राष्ट्रिय सुरक्षामाथि नै गम्भीर खतरा निम्त्याउने उनको भनाइ छ। प्रधानमन्त्रीले बिना प्रमाण यस्तो बोलेको भए नेपालले भारतको कहाँ र कति भूमि मिचेको हो, त्यसको तथ्य र जानकारी देशसामु स्पष्ट पार्नुपर्ने उनले माग गरे।
उनले भने, “उहाँले बोल्नुभएको कुरा सरासर गलत छ, मुलुकको कार्यकारी प्रमुखले त्यो गैरजिम्मेवार तरिकाले बोल्न मिल्दैन। उहाँले जे बोल्नुभयो, त्यसले हाम्रो देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता र सुरक्षामाथि नै ठुलो खतरा पैदा गरेको छ। प्रधानमन्त्रीले संसद्मा त्यो बोलेपछि विभिन्न ठाउँहरूमा भारतीय सेनाहरू हातहतियार लिएर प्रवेश गरे, विकासका विभिन्न योजनाहरू रोकिए भन्ने जस्ता संवेदनशील कुराहरू बाहिर आइरहेका छन्। उहाँले आफ्नो गलत भनाइलाई सच्याउँदै तत्काल सदनमा माफी माग्नुपर्छ। प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेको मान्छे कसरी र किन यसरी चिप्लिनुभयो? त्यसरी देशको सीमाजस्तो विषयमा जथाभाबी चिप्लिन पाइँदैन।”
सांसद राईले संसद्को बैठक व्यवस्थापन र कार्यतालिकामाथि समेत आश्चर्य व्यक्त गर्दै यसलाई रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग जोडेर हेरेका छन्। उनले भने, “मलाई अर्को कुरा अचम्म लागिरहेको छ, नियमित कार्यतालिका अनुसार १७ गते (आइतबार) हाम्रो बैठक तय थिएन। आइतबार बिदाको दिन अचानक संसद् बैठक राखेर प्रधानमन्त्रीलाई बोल्न लगाइयो। सायद रास्वपा सभापति रविजी १८ गते भारत भ्रमणमा जाँदै गरेका कारण उनलाई सजिलो बनाइदिन वा भारतलाई खुसी पार्न आकस्मिक बैठक बोलाएर प्रधानमन्त्रीले त्यस्तो बोल्नुभएको हो कि भन्ने बलियो आशङ्का जन्मिएको छ।”
अध्यक्ष राईले प्रधानमन्त्री साहले संसद्मा उपस्थित भएर माफी नमागेसम्म संसद्मा बजेट लगायत अन्य कुनै पनि विषयमा छलफल हुन नदिने स्पष्ट पारे। देशको राष्ट्रियता र सार्वभौमिकता भन्दा ठुलो बजेट वा अरू कुनै पनि विषयको छलफल हुन नसक्ने उल्लेख गर्दै उनले विपक्षमा रहेका दलहरू यस मुद्दामा पछि नहट्ने चेतावनी दिए।