संविधान र कानून भए पनि जनताले आधारभूत पूर्वाधार पाएनन् : हर्क [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
470
Shares
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा धरानका विकास आयोजना र जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सरकार संसद्प्रति उत्तरदायी बन्नुपर्ने बताए।
विशेष प्लेकार्डसहित संसद्मा उपस्थित भएका राईले संविधान र कानून भए पनि जनताले अझै खानेपानी, सडक र नुनजस्ता आधारभूत आवश्यकता सहज रूपमा पाउन नसकेको भन्दै सरकारको आलोचना गरे।
उनले अर्थमन्त्रीलाई बुझाइएको मागपत्र स्मरण गराउँदै धरान र आसपासका क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरे।
धरानको मुख्य समस्याका रूपमा रहेको खानेपानी समाधानका लागि ‘सप्तकोशी धरान खानेपानी आयोजना’ तत्काल अघि बढाउनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, सर्दु, सेउती, सेरा र अँधेरी खोलामा तटबन्ध निर्माण गरी बस्ती संरक्षण गर्न तथा फोहोर व्यवस्थापनका लागि स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न पनि उनले बजेट माग गरे।
सडक पूर्वाधारतर्फ धरान-बराहक्षेत्र-नडाहा सडक, भल्वाचौरी सडक, चतरा-सूर्यकुण्ड सडक तथा धरानका विभिन्न वडा जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि बजेट आवश्यक रहेको उनले बताए।
साथै कोका खोला, मसाने खोला र निसान डाँडा क्षेत्रमा मोटरेबल पुल निर्माण गर्नुपर्ने माग पनि उनले राखे।
राईले भूटानी शरणार्थीको पारिवारिक पुनर्मिलन, मुक्त कमैयाको समस्या समाधानका लागि कार्यदल गठन तथा राष्ट्रिय निकुञ्जका श्रेणीविहीन कर्मचारीको पद व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
विगतका आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारभित्रको कुनै एक संरचना पुनर्निर्माणका लागि आफ्नो पार्टीलाई अनुमति दिन माग गर्दै उनले सरकारी खर्चबिना श्रमदानमार्फत निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
संविधान र कानून भए पनि जनताले गाँस, बास, कपास र आधारभूत पूर्वाधार नपाएको भन्दै उनले सरकारप्रति असन्तुष्टि जनाए।