रूस र युक्रेनले गरे छुट्टाछुट्टै युद्धविरामको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
733
Shares
काठमाडौं । दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसर पारेर रूसको रक्षा मन्त्रालयले मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्सवको सम्मानका लागि सन् २०२६ मे ८–९ मा यो युद्धविराम घोषणा गरेका हुन्। उनले युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा व्यक्त गरेका छन्।
यद्यपि किएभ प्रशासनले विजय उत्सवको वार्षिकोत्सव कार्यक्रममा बाधा पुर्याउने उद्देश्यले कुनै पनि आपराधिक कार्य गर्ने प्रयास गरेमा रूसी सशस्त्र बलले किएभको केन्द्रमा प्रतिक्रियात्मक आक्रमण गर्ने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मे ५ देखि ६ को मध्यरातदेखि सुरु हुने गरी युक्रेनले छुट्टै युद्धविराम गर्ने घोषणा गरेका छन्। यो समय अवधिमा मौनता र शान्ति सुरक्षा सुनिश्चित रहने उनले बताएका छन्।
उल्लेखनीय छ कि रूसमा हरेक वर्ष मे ९ मा दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने लाखौँ मानिसहरूको सम्झनामा 'विजय दिवस' मनाउने गरिन्छ।