arrow

रूस-युक्रेनबीच तीन दिन युद्धविराम

रूस-युक्रेन युद्धविराममा ट्रम्पलाई जस, दुई हजार युद्धबन्दी साटासाट गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
trump-putin-25-8-16rr.jpg

काठमाडौँ ।  रूस र युक्रेन तीन दिनका लागि युद्धविराम गर्न र ठुलो सङ्ख्यामा युद्धबन्दी साटासाट गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा दुवै पक्षबिच एक–एक हजारको अनुपातमा (कुल दुई हजार) युद्धबन्दी साटासाट गर्ने ऐतिहासिक सहमति भएको हो।

रूसी राष्ट्रपतिका सल्लाहकार युरी उसाकोभले राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनअनुसार ट्रम्पको प्रस्तावलाई रूसी पक्षले स्वीकार गरेको जानकारी दिएका छन्। रूसी रक्षा मन्त्रालयका अनुसार मे ८ को मध्यरातदेखि मे १० सम्मका लागि युद्धग्रस्त क्षेत्रमा रहेका सबै रूसी सैन्य समूहहरूले आफ्ना सैन्य कारबाहीहरू पूर्ण रूपमा बन्द गर्नेछन्।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल 'एक्स' मार्फत रूससँग १ हजार–१ हजारको अनुपातमा युद्धबन्दी साटासाट गर्ने सहमति भएको पुष्टि गरेका छन्। उनले मे ९, १० र ११ का लागि युद्धविराम लागू हुने बताउँदै बन्दी साटासाटका लागि आवश्यक तयारी तत्काल सुरु गर्न आफ्नो टोलीलाई निर्देशन दिएका छन्।

मे ९ मा मस्कोमा आयोजना हुने विजय दिवस  परेडलाई लक्षित गर्दै राष्ट्रपति जेलेन्स्कीले एक विशेष आदेशमा हस्ताक्षर गरेका छन्। मानवीय दृष्टिकोणलाई ध्यानमा राख्दै उक्त परेडको समयमा मस्कोको रेड स्क्वायर क्षेत्रलाई युक्रेनी हतियार प्रयोगको योजनाबाट बाहिर राखिएको युक्रेनी राष्ट्रपतिको वेबसाइटमा प्रकाशित दस्ताबेजमा उल्लेख छ।

यसअघि डोनाल्ड ट्रम्पले 'ट्रुथ सोसल' मार्फत यस सहमतिको बारेमा जानकारी दिँदै दुवै देशबिच सबै प्रकारका सैन्य गतिविधि स्थगित हुने र ठुलो सङ्ख्यामा युद्धबन्दीको साटासाट हुने बताएका थिए। सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले यो समाचार सामग्री तयार पारेको हो। यस सहमतिलाई अन्तर्राष्ट्रिय समुदायले दीर्घकालीन शान्तिको दिशामा एक सकारात्मक कदमका रूपमा हेरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ