अमेरिका र इरानको निसानामा 'पानी प्लान्ट', कुवेतमा पनि मानवीय संकटको खतरा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
842
Shares
काठमाडौँ । खाडी क्षेत्रमा जारी तनावले अब नयाँ र भयानक रूप लिएको छ। अमेरिका र इरानबीचको सैन्य टकरावको निसाना अहिले समुद्रको नुनिलो पानीलाई पिउनयोग्य बनाउने प्लान्टहरू बन्न थालेका छन् । जसले खाडी क्षेत्रमा गम्भीर मानवीय संकटको खतरा निम्त्याउने भएको छ।
इरानले शनिबार सार्वजनिक गरेको दाबी अनुसार अमेरिकी वायुसेनाले उसको होर्मोजगान प्रान्तमा भीषण हवाई आक्रमण गरेको छ। उक्त हमलामा त्यहाँस्थित बोन्जी प्लान्ट पूर्ण रूपमा ध्वस्त भएको छ। इरानी अधिकारीहरूका अनुसार यो प्लान्ट सञ्चालनभन्दा बाहिर जाँदा स्थानीय २० वटा गाउँका करिब १० हजार सर्वसाधारण नागरिक पिउने पानीबाट पूर्ण रूपमा वञ्चित भएका छन् र उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ।
यसैबीच यो 'पानी युद्ध' को राप छिमेकी मुलुक कुवेतसम्म पुगेको छ। कुवेतले इरानमाथि लगातार दोस्रो दिन आफ्नो मुख्य पानी प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ।
मरूभूमिको सानो देश कुवेत आफ्नो पिउने पानीको ९० प्रतिशत आवश्यकताका लागि समुद्रको नुनिलो पानीलाई मीठो बनाउने प्रविधिमै निर्भर छ।
कुवेत सरकारले जीवनको मुख्य आधार मानिएका यस्ता संवेदनशील प्लान्टहरूमा हुने सामान्य अवरोधले पनि देशमा नागरिकको अस्तित्वमै संकट ल्याउन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
खाद्यान्न र पानी जस्ता अत्यावश्यक आपूर्ति प्रणालीलाई युद्धको हतियार बनाइँदा यसले खाडी क्षेत्रका लाखौँ सर्वसाधारणलाई भोकमरी र काकाकुलको अवस्थामा पुर्याउने जोखिम बढेको भूराजनीतिक विश्लेषकहरूले चेतावनी दिएका छन्।