काठमाडौँ । विश्वकै प्रमुख तेल उत्पादक र निर्यातकर्ता मुलुक रूसमा अहिले अभूतपूर्व इन्धन संकट चुलिएको छ । जसका कारण देशका ९० प्रतिशतभन्दा बढी क्षेत्रहरूमा तेलको हाहाकार मच्चिएको छ। अहिलेसम्म इन्धन सजिलै उपलब्ध हुने र युरोपको तुलनामा निकै सस्तो पाइने रूसमा अहिले पेट्रोलका लागि पेट्रोल स्टेशनहरूमा लामो लाइन लाग्नु पर्ने बाध्यता आइलागेको छ।
मस्कोबाट करिब ३०० माइल (४८० किलोमिटर) उत्तरमा रहेको भोलोग्डाबाट फर्कने क्रममा रुसी दम्पती येलेना र दिमित्रीले चारवटा पेट्रोल पम्प पार गरेपछि मात्र बल्ल इन्धन उपलब्ध भएको पम्प भेट्टाउन सके। यो प्रतिनिधि घटनाले रूसभित्रको इन्धन संकट कति गम्भीर मोडमा पुगेको छ भन्ने स्पष्ट पार्छ। इन्धन अभावका कारण भोलोग्डाका केही पेट्रोल पम्पहरू पूर्ण रूपमा बन्द भएका छन् भने अन्य पम्पहरूमा गाडीको लामो ताँती देखिन्छ।
रूसमा यो संकट निम्तिनुको मुख्य कारण युक्रेनले रूसी तेल डिपो र ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी गरिरहेको निरन्तरको आक्रमण हो। मस्कोले आफ्ना सहरहरूमा गरेको घातक बमबारीको प्रतिक्रियास्वरूप युक्रेनले रूसी ऊर्जा क्षेत्रलाई निसाना बनाउँदै आएको छ।
अमेरिकामा आधारित ऊर्जा अनुसन्धान फर्म 'एनर्जी इन्टेलिजेन्स' को जुलाईमा प्रकाशित प्रतिवेदन अनुसार, रूसको दैनिक ६६ लाख ब्यारेल तेल प्रशोधन क्षमताको झण्डै आधा हिस्सा गत फेब्रुअरीको अन्त्यदेखि कटौती भएको छ। युक्रेनी आक्रमणका कारण रूसी तेल क्षेत्रको आधा क्षमता गुम्दा सन् २०२२ मा द्वन्द्व सुरु भएयताकै पहिलो पटक आम नागरिकको सामान्य जीवनमा यति ठूलो बाधा पुगेको हो।
देशभित्रै तेलको हाहाकार मच्चिएपछि मस्कोले यसअघि नै निश्चित ग्रेडको पेट्रोल र उड्डयन (हवाई) इन्धनको निर्यातमा प्रतिबन्ध लगाएको थियो। संकट झन् गहिरिँदै गएपछि गत हप्ता मात्रै यो प्रतिबन्धलाई डिजेल निर्यातमा समेत विस्तार गरिएको छ। यी उपायहरूका कारण मस्को र आसपासका केही क्षेत्रमा इन्धन अभाव थोरै कम हुन थालेको एएफपीले उल्लेख गरे पनि बहुसंख्यक क्षेत्र अझै मारमा छन्।
युक्रेनले रूसी अर्थतन्त्रलाई धराशायी बनाउने उद्देश्यका साथ ऊर्जा सञ्जालमा आक्रमण जारी राखेको छ। यता रूसले भने आफ्नो ऊर्जा सञ्जालको सुरक्षा प्रणाली अत्यन्त उच्च रहेकाले युक्रेनी रणनीति सफल नहुने दाबी गर्दै आएको छ। तर, युक्रेनको सिमानाबाट करिब एक हजार किलोमिटर टाढा रहेका सहरहरूमा समेत पेट्रोल पम्पहरू बन्द हुनुले रूसी तेल क्षेत्रमा परेको धक्का र इन्धनको हाहाकारलाई लुकाउन सकेको छैन।