काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले युद्ध र जलवायु परिवर्तनका कारण विश्वभर खतरामा परेका महत्त्वपूर्ण स्थानहरूलाई आफ्नो विशेष सूचीमा समावेश गर्ने तयारी गरेको छ। दक्षिण कोरियाको बुसानमा आगामी हप्ता शुक्रबारदेखि हुन लागेको युनेस्कोका १९६ सदस्य राष्ट्रहरूको बैठकले विश्व सम्पदा र खतरामा रहेका विश्व सम्पदा सूचीमा नयाँ स्थानहरू थप गर्न मतदान गर्नेछन्।
युनेस्कोको विश्व सम्पदा केन्द्रका निर्देशक लाजारे एलोन्डो असोमोका अनुसार यी स्थानहरूको ऐतिहासिक र सांस्कृतिक महत्त्व उच्च रहेकाले सम्भावित विनाश रोक्न तत्काल आवश्यक कदम चाल्न लागिएको हो। सम्पदाको सुरक्षाले युद्ध र प्राकृतिक प्रकोपका कारण विस्थापित भएका समुदायहरूलाई आफ्नै थातथलोमा फर्किन र पुनर्निर्माणमा जुट्न ठूलो मद्दत पुग्ने उनको भनाइ छ। हालसम्म विश्वभरका करिब १ हजार २०० स्थानहरू युनेस्कोको विश्व सम्पदा सूचीमा दर्ता भइसकेका छन्।
यस पटकको बैठकमा खतराको सूचीमा राख्नका लागि तीनवटा प्रमुख स्थानहरूमा सिधै मतदान हुने अपेक्षा गरिएको छ। त्यसमा वेस्ट ब्याङ्कको इजरायली–अधिकृत प्यालेस्टिनी क्षेत्रमा रहेको र बाइबलीय सामरियाका रूपमा पहिचान गरिएको 'सेबेस्टिया' को पुरातात्विक स्थल समावेश छ। यस्तै, युद्धको चपेटामा परेको दक्षिण लेबनानका पाँच वटा ऐतिहासिक महलहरूलाई पनि प्राथमिकतामा राखिएको छ।
त्यसैगरी, युद्ध र जलवायु परिवर्तन दुवैको दोहोरो मारमा परेको दक्षिण सुडानको बोमा–बाडिडिलो घाँसे मैदान र वुडल्याण्ड सवान्नाह (एन्टिलोप माइग्रेसन मार्ग) लाई पनि सिधै खतराको सूचीमा राख्न मतदान हुने अधिकारीहरूले जनाएका छन्।
यसका साथै, प्रदूषण, सामूहिक पर्यटन र पानीको घट्दो स्तरका कारण अस्तित्व सङ्कटमा परेको रुसको विश्वकै सबैभन्दा गहिरो ताल 'बैकाल ताल' लाई पनि खतराको सूचीमा राख्न सकिने विषयमा छलफल हुनेछ। यस्तै, ब्राजिलको अमेजन जङ्गल र ट्युनिसियाको सिदी बोउ सइद गाउँमा रहेका दुईवटा ऐतिहासिक थिएटरहरू पनि युनेस्कोको नयाँ सूचीमा समेटिने बलियो सम्भावना रहेको छ।