arrow

रूसी तेल केन्द्रमा युक्रेनी हमला, आकाशबाट ‘विषाक्त वर्षा’

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
russia.png

काठमाडौँ । युक्रेनले सोमबार रूसको दक्षिणी तटीय सहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा गरेको आक्रमणपछि भीषण आगलागी हुँदा त्यस क्षेत्रको आकाश कालो धुवाँको बाक्लो मुस्लोले ढाकिएको छ।

रूसी अधिकारीहरूका अनुसार चारवटा भण्डारण ट्याङ्कीमा लागेको आगो बिहीबारसम्म पनि नियन्त्रणमा आउन सकेको छैन र स्थानीय प्रशासन अझै आगो निभाउन संघर्ष गरिरहेको छ। यस आगलागीका कारण बुधबार सो क्षेत्रमा विषाक्त वर्षा समेत भएको थियो, जसले गर्दा हावामा हानिकारक कणहरूको मात्रा सामान्यभन्दा दुईदेखि तीन गुणाले वृद्धि भई वायु प्रदूषणको स्तर निकै उच्च पुगेको छ।

विषाक्त ध्वाँसो र वर्षाका कारण तटीय क्षेत्रका बस्तीहरूमा सतह नै कालो देखिएको छ भने सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा समुद्र र समुद्री तटमा तेल पोखिएको तथा किनारमा मरेका माछा र चराचुरुङ्गीहरू थुप्रिएको देखिएको छ।

सहरका छाडा जनावरहरूको शरीर समेत कालो अवशेषले ढाकिएको छ र पार्किङमा राखिएका सवारी साधनहरूमा कालो दागहरू देखिएका छन्। वातावरणीय संकट गहिरिँदै गएपछि सहरका अधिकारीहरूले बासिन्दाहरूलाई घरका झ्यालहरू बन्द राख्न, बाहिरी गतिविधिहरू कम गर्न र बाहिर निस्कनै परेमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न चेतावनी दिएका छन्।

पर्यटकीय दृष्टिले लोकप्रिय मानिने तुआप्से सहर युक्रेनी सेनाको निशानामा पटक-पटक पर्दै आएको छ। पछिल्लो समय किएभले रूसी सेनाको मुख्य आर्थिक स्रोत मानिने तेल निर्यात र ऊर्जा केन्द्रहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ।

रूसको राजस्वमा धक्का पुर्‍याउने र युद्धका लागि आवश्यक कोषमा अवरोध सिर्जना गर्ने उद्देश्यले गरिएका यस्ता रणनीतिक आक्रमणले अहिले रूसको तटीय क्षेत्रमा ठूलो वातावरणीय र मानवीय जोखिम निम्त्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ