काठमाडौँ । दक्षिणी रूसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रूसका १३ वटा विमानस्थलको सञ्चालन अवरुद्ध भएको छ । रूसी यातायात मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस घटनाबारे जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ–अन–डनस्थित क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रलाई लक्षित गरी आक्रमण भएको थियो । आक्रमणलगत्तै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ती विमानस्थलहरूको सञ्चालन अस्थायी रूपमा रोकिएको मन्त्रालयले बताए ।
घटनाका समयमा प्रशासनिक भवनमा रहेका सबै कर्मचारीहरू सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ । हाल प्राविधिक विशेषज्ञहरूले सञ्चार तथा नियन्त्रण उपकरणहरूको परिचालन स्थितिको सूक्ष्म अवलोकन गरिरहेका छन् ।
हवाई सेवा अवरुद्ध भएपछि मन्त्रालय र सङ्घीय हवाई यातायात विभागले एयरलाइन्स तथा विमानस्थलहरूसँग समन्वय गरी उडान तालिका संशोधन गर्ने र हवाई यातायात व्यवस्थापन प्रक्रियामा आवश्यक परिमार्जन गर्ने कार्य गरिरहेका छन् । यस अवरोधले दक्षिणी रूसको हवाई सम्पर्कमा ठूलो असर पारेको छ ।