सुकुमवासी पीडितलाई कानूनी लडाइँमा साथ दिने बाबुराम आश्वासन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
321
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा बस्ती भत्काइएका कारण विस्थापित भएका सुकुमवासी परिवारसँग भेट गरी उनीहरूको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।
भेटका क्रममा पीडितहरूले राज्यका निकायहरूबाट भएको प्रशासनिक उदासीनता र हालैको वर्षा तथा बाढीले निम्त्याएको सङ्कटका बारेमा आफ्नो पीडा सुनाएका थिए।
विस्थापित परिवारका अनुसार बाढीले घरभित्रका सामान निकाल्न नपाएको र विद्युत् मिटरहरू डुबेर लाइन काटिएपछि उनीहरू अन्धकारमा बस्न बाध्य छन्। यस्तो कठिन समयमा पनि सम्बन्धित निकायले सहयोग गर्नुको साटो 'कालोसूचीमा राख्ने' र 'सामान जफत गरिदिने' जस्ता धम्की दिएर मानसिक तनाव दिने गरेको गुनासो उनीहरूले पोखेका छन्।
गोकर्णेश्वर नगरपालिकाका एक पीडितले आफूलाई राहत र सहयोगका लागि दशरथ रङ्गशाला, प्रहरी र नगरपालिका धाउँदा पनि कतैबाट ठोस सहयोग नमिलेको बताए।
पीडितहरूको कुरा सुनेपछि डा. भट्टराईले उनीहरूलाई सहानुभूति प्रकट गर्दै उचित व्यवस्थापनका लागि कानूनी प्रक्रियामार्फत अघि बढ्न सुझाव दिए।
सबै नागरिकको बराबर अधिकार भएको उल्लेख गर्दै उनले पीडितहरूलाई आफ्ना विवरण र प्रमाणहरू पेश गर्न आग्रह गरे "कसैलाई पनि अन्याय हुन दिनुहुँदैन, कानूनी तरिकाले समस्याको समाधान खोज्न हामी साथ दिनेछौँ," भट्टराईले भने। बस्ती भत्काइएपछि खुला आकाशमुनि बस्न बाध्य भएका परिवारले हाल खाद्यान्न र सुरक्षित आवासको तत्काल व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्।