गोरखा–२ मा बाबुराम भट्टराईको प्रलोपा कांग्रेससँगै घरदैलो अभियानमा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
835
Shares
गोरखा । गोरखा क्षेत्र नं २ मा नेपाली कांग्रेस र डा बाबुराम भट्टराई प्रमुख संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीको संयुक्त घरदैलो अभियान भएको छ । गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको प्रलोपाले कांग्रेससँग मिलेर चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको हो ।
प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पालुङ्टार नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन् । संयुक्त टोलीले मतदातासँग भेटघाट गर्दै समर्थनका लागि आग्रह गरिरहेको छ ।
प्रचार अभियानमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘रूख’ चिन्हमा मत मागिरहेको छ भने प्रलोपाले प्रत्यक्षतर्फ ‘रूख’ र समानुपातिकतर्फ ‘आँखा’ चिन्हमा मतदान गर्न अनुरोध गरिरहेको छ ।
संयुक्त टोलीमा प्रलोपाका समानुपातिक उम्मेदवार लालबहादुर विक, केन्द्रीय सदस्य यानप्रसाद भट्ट ‘सरोज’, अमृत आचार्य तथा जिल्ला अध्यक्ष नारायण खत्री सहभागी छन् । कांग्रेसका तर्फबाट उम्मेदवार दवाडी अभियानमा सहभागी भएका छन् ।
प्रचारका क्रममा अध्यक्ष खत्रीले विगतमा कांग्रेसले ‘आँखा’ चिन्हमा सहयोग गरेको प्रसंग स्मरण गराउँदै यस पटक ‘रूख’ चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
साथै स्थानीय तह र प्रदेश तहसम्म कांग्रेससँग सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै मतदातालाई गठबन्धनको पक्षमा उभिन अनुरोध गरेका छन् ।
यसअघि विसं २०७४ सालको निर्वाचनमा तत्कालीन नयाँ शक्तिलाई कांग्रेसले सहयोग गरेर डा बाबुराम भट्टराईलाई सांसदका रुपमा निर्वाचित गराएको थियो ।