नवगठित पार्टी जेन–जी आन्दोलनको उपज : बाबुराम [भिडियो]
जेन–जी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरू मात्रै नभएर समग्र राजनीतिमा नै पुनर्संरचना आवश्यक
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
722
Shares
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) जेन–जी आन्दोलनको उपज भएको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित सो पार्टीको घोषणा सभामा बोल्दै उनले प्रलोपलाई जेन–जी पुस्ताको पार्टी भन्नुपर्ने जिकिर समेत गरे। पूर्वप्रधानमन्त्री भट्टराईले प्रलोपलाई जेन–जी पुस्ताको पार्टी हो भनेर नबुझिएमा त्यसको कुनै अर्थ नहुने आफ्नो धारणा व्यक्त गरे। उनले नवगठित पार्टीले जेन–जी पुस्ताको आवाज र मागलाई पूरा गर्नुपर्ने कुरामा जोड दिए।
उनले भने, “यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो। र जेन–जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ।” उनले अबको पार्टीको एजेन्डा जेन–जी पुस्ताको चेतना र यो युगसँग जोडिएका कुराहरू पूरा गर्न सक्षम हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि गरे। पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरू मात्रै नभएर समग्र राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको समेत बताएका छन्।