बाबुराम भट्टराईको प्रलोपाले गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई सघाउने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १६ शनिबार
1k
Shares
तस्बिर : फाइल
काठमाडौँ । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रलोपाले यही फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसको चुनाव चिन्ह ‘रूख’ लाई समर्थन गर्ने निर्णय गरेको हो । समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
योसँगै प्रलोपाले गोरखाको दुई ओटै क्षेत्रमा आफ्नो उम्मेदवारी फिर्ता गरेको छ ।
दुई पार्टीबीच मिलेर जाने समझदारी अनुसार प्रलोपाले प्रतक्ष्यतर्फ कांग्रेसलाई सहयोग गर्ने निर्णयमा पुगेको अध्यक्ष खत्रीले बताए । प्रलोपाको हालै सम्पन्न बैठकले गोरखाका दुबै क्षेत्रमा कांग्रेसलाई सहयोग निर्णय गरेसँगै कांग्रेसले उक्त निर्णयको स्वागत गर्दै आभार प्रकट गरेको छ ।
कांग्रेसका गोरखा जिल्ला सभापति नन्दु न्यौपानेले प्रलोपाले गोरखामा कांग्रेसलाई सघाउने निर्णय गरेको जानकारी दिए । यसअघि ०७४ को निर्वाचनमा डा भट्टराईलाई कांग्रेसले सघाएको थियो ।
उनी कांग्रेससँगको चुनावी तालमेलमा गोरखा २ बाट निर्वाचित भएका थिए ।