चार वर्षपछि पनि युक्रेन अविच्छिन्न भएको जेलेन्स्कीको दाबी, वार्ताबाट नपाए लडेरै लिने रूसको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
2.3k
Shares
काठमाडौँ। युक्रेनलाई टुक्राउने रूसी नेता भ्लादिमिर पुटिनको लालसा युद्धको चार वर्षसम्म पनि विफल पार्न युक्रेन सफल भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताएका छन्। पश्चिमा गठबन्धनको सहयोग र युक्रेनीहरूको प्रतिरोधका कारण यो सम्भव भएको उनको भनाइ छ।
क्रेमलिनले दोस्रो विश्वयुद्धपछिको यो सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वलाई आफ्ना लक्ष्यहरू प्राप्त नभएसम्म जारी राख्ने वाचा गरेको छ। मस्कोले सन् २०२२ फेब्रुअरी २४ मा आक्रमण सुरु गर्दा केही दिनमै किएभ कब्जा गर्ने आशा गरेको थियो।
हजारौँको मृत्यु र लाखौँलाई विस्थापित बनाएको यस युद्धले पूर्वी युक्रेनको धेरै भाग ध्वस्त बनाएको छ। अमेरिकी नेतृत्वको शान्ति वार्ता अझै पनि कब्जा गरिएको भूमिबारे दुवै मुलुकको अडानका कारण निष्कर्षमा पुग्न सकेको छैन। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँगको संवादमा भने, “लक्ष्य अहिलेसम्म पूर्ण रूपमा प्राप्त भएको छैन, त्यसैले सैन्य अपरेशन जारी छ।”
युक्रेनी भूमि रूसलाई दिनु रूसलाई आगामी दिनमा थप आक्रमणका लागि हौसला दिनु बराबर भएको भन्दै राष्ट्रपति जेलेन्स्कीले भने, “कुनै पनि सम्झौताले युद्धको क्रममा युक्रेनीहरूले तिरेको मूल्यलाई ‘विश्वासघात’ गर्नु हुँदैन।” उनले अगाडि थपे, “रूसले आफ्नो लक्ष्य हासिल गरेको छैन। उसले युक्रेनीहरूको एकतालाई फुटाउन सकेन। शत्रुले यो युद्ध जित्न सकेको छैन।”
उनले युक्रेनले बलियो, सम्मानजनक र दिगो शान्ति चाहेको र कुनै पनि सम्झौतालाई युक्रेनी जनताले स्वीकार गर्नुपर्नेमा जोड दिए। “युक्रेनले सबै कुरा भोगेको छ। यसलाई आत्मसमर्पण गरिनु हुँदैन, बिर्सनु हुँदैन वा धोका दिनु हुँदैन,” जेलेन्स्कीले भने।
युरोपेली संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले ब्रसेल्सलाई आफ्नो देशको ईयू प्रवेशका लागि स्पष्ट समयरेखा तय गर्न आग्रह गरे। वार्षिकोत्सवको अवसरमा फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनसहित धेरै युरोपेली नेताहरूले किएभको भ्रमण गरेका छन्। युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले पनि युरोप युक्रेनको साथमा अविचलित रूपमा उभिएको बताइन्।
हाल युक्रेनको करिब २० प्रतिशत भूभाग ओगटेको रूसले पूर्वी डोनेट्स्क क्षेत्रमा पूर्ण नियन्त्रण हासिल गर्न सङ्घर्ष गरिरहेको छ। युक्रेनले भने रूसलाई फेरि आक्रमण गर्नबाट रोक्नका लागि अमेरिकासहितका सहयोगीहरूको सुरक्षा ग्यारेन्टी बिना कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट पारेको छ।