arrow

संगठित हुँदै नयाँ शक्ति

नयाँ शक्तिको केन्द्र बन्दै बालेनको निवास: बाबुरामदेखि रविसम्मको दौडधूप [भिडियो]

बालेनसँग भेटेपछि बाबुरामको सन्देश: 'नयाँ र वैकल्पिक शक्तिहरू एक भए मेरो समर्थन रहन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
baburam-bhattrais.jpg

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँका मेयर बालेन्द्र (बालेन) शाहको निवास 'ज्वागल' वैकल्पिक राजनीतिको नयाँ शक्ति केन्द्रका रूपमा उदाएको छ। बिहीबार बिहानैदेखि मेयर शाहलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने र अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसहितका प्रभावशाली नेताहरूको ताँती लागेको छ।

मेयर साहसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरूलाई छरिएर नरहन र एकीकृत मोर्चा बनाएर अघि बढ्न सुझाव दिएको बताए। उनले भने, "म नयाँ र वैकल्पिकहरू जति पनि छन्, उनीहरू एक भएर अघि बढ्नुस् भन्न आएको हुँ, त्यसो भएमा मेरो पूर्ण समर्थन रहन्छ।" उनले पुराना दलहरूको विकल्पमा एउटा बलियो राष्ट्रिय शक्ति आवश्यक रहेकोमा जोड दिए।

यसअघि सोमबार राति रास्वपा सभापति रवि लामिछाने र मेयर साहबीच करिब पाँच घण्टा लामो गोप्य वार्ता भएको थियो। उक्त भेटमा रविले बालेनलाई आगामी निर्वाचनमा 'भावी प्रधानमन्त्री' को रूपमा अघि सार्ने प्रस्ताव गरेको चर्चाले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ। यद्यपि, रविले चितवन पुगेर उक्त चर्चाको खण्डन गर्दै छलफल जारी रहेको तर ठोस निर्णय भइनसकेको बताएका छन्।

ज्वागल पुग्ने नेताहरूमा अन्तरिम सरकारका मन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ पनि छन्। यस्तै, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र कांग्रेस नेता डा. सुनिल शर्माले पनि साहसँग भेट गरी वैकल्पिक मोर्चा निर्माणमा चासो देखाएका छन्। मेयर शाहको सचिवालयका अनुसार उनी पछिल्लो समय ३० भन्दा बढी नयाँ अनुहार र अभियन्ताहरूसँग संवादमा छन्।

मेयर साह निकटका व्यक्तिहरूले निर्वाचन आयोगमा 'देश विकास पार्टी' दर्ता गरिसकेको र यसको चुनाव चिन्ह 'लौरो' रहेको बुझिएको छ। बिहीबारको भेटघाटहरूमा बालेनले नयाँ दल घोषणा गरेमा कति समर्थन रहन्छ भन्नेबारे सहभागीहरूसँग राय मागेका थिए। धेरैजसो नेताहरूले सकारात्मक प्रतिक्रिया दिएको र वैकल्पिक शक्तिहरूबीच कार्यगत एकता गर्ने प्रयास भइरहेको बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ