युक्रेनको शान्ति वार्तामा दबाबबीच सहयोगी राष्ट्रहरूको आज भर्चुअल बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
1.7k
Shares
काठमाडौँ। रुससँगको करिब चार वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कीएभलाई शान्ति सम्झौता स्वीकार गर्न दबाब बढाइरहेका बेला युक्रेनका सहयोगी राष्ट्रहरूले आज (बिहीबार) भर्चुअल बैठक गर्दैछन्।
फ्रान्स सरकारका प्रवक्ता मोड ब्रेजेओनले बुधबार जानकारी दिँदै भनेका छन्, "फ्रान्स र बेलायतको सह–अध्यक्षतामा पुनः बस्न लागिएको 'कोएलिसन अफ द विलिङ' को भोलिको [आजको] बैठकले युक्रेनलाई प्रदान गरिने सुरक्षा ग्यारेन्टी र अमेरिकाको महत्त्वपूर्ण भूमिकाबारे ठोस प्रगति गर्न मद्दत गर्नेछ।" एलीसे प्यालेसका अनुसार यो बैठक भिडियो कन्फरेन्समार्फत सञ्चालन हुनेछ।
अघिल्ला चरणमा अमेरिकाले अघि सारेको सम्झौतापत्रका केही प्रावधानलाई युक्रेनका युरोपेली सहयोगीहरूले रुसका पक्षमा अत्यधिक अनुकूल भएको भन्दै आलोचना गरेका थिए, यद्यपि राष्ट्रपति ट्रम्पले कीएभलाई सो प्रस्ताव स्वीकार गर्न निरन्तर दबाब दिइरहेका छन्। यसबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार सुरक्षा सुनिश्चित हुन सके देशमा नयाँ चुनाव गराउने तयारी रहेको बताउनुभएका थिए। सोमबार, युक्रेनका युरोपेली साझेदारहरूले जेलेन्स्कीलाई ठोस समर्थन व्यक्त गर्दै अमेरिकाको नयाँ प्रस्तावका निश्चित अंशप्रति गम्भीर शङ्का र चिन्ता जनाएका थिए।