टेर्नोपिलमा रुसी आक्रमण: २५ जनाको मृत्यु, शान्ति वार्ताको प्रयास ओझेलमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
2.1k
Shares
काठमाडौँ। पश्चिमी युक्रेनको टेर्नाेपिल शहरमा बुधबार भएको रुसी आक्रमणमा तीन बालबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको छ। यो रुसी आक्रमणले टर्कीमा शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रयासलाई ओझेलमा पारेको छ।
सन् २०२२ मा मस्कोले टेर्नोपिलमाथि हप्तौँसम्म आक्रमण गरेयता बुधबार भएको आक्रमण सबैभन्दा घातक र देशको पश्चिममा भएको सबैभन्दा ठूलो आक्रमण हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ टर्कीमा हुने वार्तामा सहभागी नहुने भएका छन्।
आक्रमणपछि दर्जनौं उद्धारकर्ताहरू भग्नावशेषमा खोजी गरिरहेका प्रत्यक्षदर्शी पत्रकार तथा स्थानीयले बताएका छन्। ध्वस्त भएको भवनमा पुग्न पत्रकारहरूसमेतले क्रेनको प्रयोग गरेका थिए। बिहान ७ बजे विस्फोटको आवाज सुनिएपछि बाक्लो खैरो धुवाँको मुस्लोले सडक ढाकिएको थियो।
टेर्नोपिल अधिकारीहरूले आगोका कारण हावामा क्लोरिनको स्तर सामान्यभन्दा छ गुणा बढेको बताएका छन् र शहरका करिब दुई लाख बासिन्दाहरूलाई घरमै बस्न र झ्यालहरू बन्द गर्न आग्रह गरेका छन्। युक्रेनीे गृह मन्त्रालयले रुसले गरेको गोलाबारीका कारण तीन बालबालिकासहित २५ जनाको मृत्यु भएको र घटनामा १५ बालबालिकासहित ७५ जना घाइते भएका जनाएको छ।
युक्रेनको विदेश मन्त्रालयले बिहीबार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा ‘भयानक हत्या’ लाई छलफलको बिषय बनाउन माग गरिने बताएको छ र अन्तर्राष्ट्रिय निन्दा गर्न आह्वान गरेको छ। विदेशमन्त्री एन्ड्री सिबिगाले “रूसको ‘शान्ति योजना’ वास्तविकतामा यस्तै देखिन्छ,” भने।
रुसले जाडो अघि युक्रेनको ऊर्जा ग्रिडमा प्रहार गरिरहेको छ र युक्रेनको विस्तारित सेनाहरू सीमा क्षेत्रमा दबाबमा छन्। किएभको वायु सेनाले रुसले रातिको समयमा ४७६ भन्दा बढी ड्रोन र ४८ वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। उक्त आक्रमणमा उत्तरपूर्वी क्षेत्र खार्किभमा कम्तीमा ४६ जना घाइते भएका छन् भने पश्चिमी युक्रेनका अन्य क्षेत्रलाई पनि लक्षित गरिएको छ।
रूसी प्रशासन केन्द्र क्रेमलिनले करिब चार वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकासँग गोप्य योजनामा काम गरिरहेको भन्ने अमेरिकी सञ्चार माध्यम एक्सियोसको रिपोर्टमा टिप्पणी गर्न अस्वीकार गरेको छ।