'कफी खेती गरौँ, स्वरोजगार बनौँ' भन्ने नारासहित कफी दिवस मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
1.1k
Shares
काठमाडौँ। आज नेपालमा २१औँ राष्ट्रिय कफी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष 'कफी खेती गरौँ, स्वरोजगार बनौँ' भन्ने नारासहित दिवस मनाउन लागेको हो।
नेपाली कफीको गुणस्तरका कारण अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहे पनि उत्पादन पर्याप्त हुन नसक्दा नेपाली बजारमा नै कफी आयात बढ्दो क्रममा रहेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिका कारण कफीको आन्तरिक बजारमा पनि माग व्यापक वृद्धि भएको छ।
बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६४२ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन गरे पनि १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मे.टन कफी आयात गर्नुपरेको जनाएको छ। सोही अवधिमा ११ करोड ४३ लाख रुपैयाँ बराबरको मात्र ६४ मे.टन कफी निर्यात भएको छ।
यसको तथ्याङ्कीय प्रवृत्ति हेर्दा नेपालमा कफी उत्पादन २०७०/७१ को ४२९ मे.टनबाट बढेर २०८१/८२ मा ६४१.९ मे.टन पुगेको छ, तर यही अवधिमा कफी आयात झनै तीव्र रूपमा बढेको देखिन्छ। २०८१/८२ मा कफी आयात २३४ मे.टन रहँदा यसको आयात मूल्य १४४ करोड नाघेको छ। यसको विपरीत, अघिल्लो वर्षमा ८८ हजार ८५६ किलो कफी निर्यात भएकोमा २०८१/८२ मा भने निर्यात घटेर ६३ हजार ९९८ किलोमा झरेको छ।