arrow

नेपाल भ्रमणमा इण्डो–प्यासिफिक राज्यमन्त्री

नेपाल-बेलायत सम्बन्ध सुदृढ बनाउन शिक्षा, सीप र आर्थिक सहकार्य मुख्य आधार: राज्यमन्त्री मल्होत्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
sima-malhotra.jpg

काठमाडौँ । संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सीप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताएकी छन्। आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरित मैत्री सन्धिलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन्। मन्त्री मल्होत्राले नेपालको शिक्षा क्षेत्रमा बेलायतले विगत ७० वर्षदेखि निरन्तर सहयोग गर्दै आएको स्मरण गराइन्।

मन्त्री मल्होत्राले शिक्षा र अर्थतन्त्र एकअर्कासँग अभिन्न रूपमा जोडिएको उल्लेख गरिन्। नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यलाई सघाउन बेलायत इच्छुक रहेको उनको भनाइ छ। बेलायतले आफ्नै देशमा लागू गरेको ‘औद्योगिक रणनीति’ र ‘स्किल्स इङ्गल्याण्ड’ को अवधारणालाई नेपालको आवश्यकता अनुसार साझेदारी गर्न सकिने उनले बताइन्। 

नेपाली विद्यार्थीले नेपालमै बसेर बेलायती विश्वविद्यालयको शैक्षिक योग्यता हासिल गर्न सक्ने ‘ट्रान्सनेशनल एजुकेसन’ को महत्त्वमाथि प्रकाश पार्दै मन्त्रीले यसले प्रतिभा पलायन रोक्न र लागत कम गर्न मद्दत गर्ने धारणा राखिन्। हाल नेपालका ३० वटा क्याम्पससँग १९ वटा बेलायती विश्वविद्यालयले सहकार्य गरिरहेको र १७ हजारभन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइरहेको जानकारी उनले दिइन्।

मन्त्री मल्होत्राले बेलायतमा रहेका नेपाली समुदायले दुई देशबीच ‘लिभिङ ब्रिज’ को काम गरिरहेको बताइन्। बेलायतमा नेपाली मूलका व्यक्तिहरू स्थानीय राजनीति र व्यावसायिक क्षेत्रमा सफल हुँदै गएकोमा खुसी व्यक्त गर्दै उनले बेलायत पढ्न जाने नेपाली विद्यार्थी छैटौँ ठूलो अन्तर्राष्ट्रिय समूह हुनु गौरवको विषय रहेको उल्लेख गरिन्।

उनले भनिन्, ‘कुनै पनि राष्ट्रले मानवीय प्रतिभामा लगानी नगरी आफ्ना आकाङ्क्षाहरू पूरा गर्न सक्दैन। बेलायत र नेपालले दशकौँदेखि विद्यालय शिक्षा र शिक्षक तालिममा सहकार्य गर्दै आएका छन्। यदि तपाईँ आर्थिक वृद्धि चाहनुहुन्छ भने सीप चाहिन्छ, र रोजगारीका लागि उपयुक्त तालिम आवश्यक पर्छ।’

भ्रमणका क्रममा मन्त्री मल्होत्राले नेपालका शिक्षा, परराष्ट्र र अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गरेकी थिइन्। ती भेटहरूमा आधारभूत सिकाइ ढाँचा, बालिका शिक्षा र अटिज्म भएका बालबालिकाका लागि विशेष शैक्षिक सहयोगका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन्। मन्त्री मल्होत्राले नेपालको समावेशी विकास, नवप्रवर्तन र समृद्धिका लागि बेलायत सदैव भरपर्दो साझेदार रहने विश्वास व्यक्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ